अभिनेता जितु नेपालले नयाँ फिल्म साइन् गरेका छन्।
कथाकार गुरूप्रसाद मैनालीको कृति 'परालको आगो' मा आधारित रहेर निर्माण हुने फिल्ममा उनी अनुबन्धित भएका हुन्।
'परालको आगो' फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई अनुबन्ध गरेका हुन्।
मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ। 'परालको आगो' मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ।
निर्माता पोखरेलका अनुसार जितु फिल्मका प्रमुख दुई पात्रमध्ये एकमा अभिनय गर्नेछन्।
अर्को प्रमुख पात्र पनि चाँडै फाइनल गरिने पोखरेलले बताए। फिल्ममा यसअघि अभिनेत्री सुहाना थापा पनि फाइनल भइसकेकी छन्।
'यसबाहेक सेकेण्ड लिडका लागि अर्की एक कलाकार पनि फाइनल गर्दैछौं,' निर्माता पोखरेलले भने।
निर्माता पोखरेलका अनुसार फिल्मको प्रदर्शन २०८२ सालमा मा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए। फिल्म निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्नेछन्।
फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ। फिल्मका निर्माण नियन्त्रक नगेन्द्र घिमिरे छन्।