राष्ट्रिय युवा परिषद् र परिषद आवद्ध कला साहित्य युवा सञ्जालले गरेको राष्ट्रिय युवामैत्री लोक दोहोरी प्रतियोगितामा तारा थापा र सुमन खड्का रहेको कर्णाली टिम प्रथम भएको छ। प्रथम हुनेले एक लाख रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्।
संघीय राजधानी काठमाडौंमा दुई दिन चलेको प्रतियोगितामा पृतम पोखरेल र सबिता परियार रहेको जनकपुर टिमले दोस्रो स्थान हासिल गरी ३० हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्।
त्यसैगरी नारायणी टिमका घनश्याम परियार र जमुना विश्वकर्मा र राप्ती टिमका प्रकाश दुरा रआशा केसीले तृतीय स्थान हासिल गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा जागरण र सशक्तिकरणका विषयमा आयोजना गरिएको लोकदोहरीले कला संस्कृति जोगाउन र युवालाई देशभित्रै केही गर्ने उत्प्रेरणा दिएको बताए। परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले लोक दोहोरी मार्फत् नेपाली युवालाई मुलुकभित्रै आशा र भरोसाको सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको बताए।
देशभरिबाट प्रतिस्पर्धाको आधारमा छानिएका सहभागीमध्ये अन्तिम चरणमा १२ समूहकोबीचमा प्रतिस्पर्धा गराइएको कला, साहित्य सञ्जालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा कोशी, सगरमाथा, जनकपुर, बागमती, नारायणी, गण्डकी, लुम्बिनी, धौलागिरि, राप्ती, भेरी, कर्णाली र सेती काली समूह रहेका थिए ।
प्रतिस्पर्धामा भाग लिएका सबैको गायकी उत्कृष्ट रहेको कार्यक्रमका निर्णायक समितिका संयोजक लोकगायक चन्द्र शर्माले बताए।कार्यक्रममा लोकदोहोरीका राष्ट्रिय धरोहर वरिष्ठ लोकगायक बमवहादुर कार्की र चन्द्रकला शाहलाई अभिनन्दन समेत गरिएको थियो।