सहिद परिवार
७६ वर्षीय वासुदेव जोशीले एक वर्षदेखि छोराको अनुहार प्रत्यक्ष देख्न पाएका थिएनन्।
यसपालि दसैंमा छोरा घर फर्किन्छ कि भन्ने उनको आस थियो। दसैं मनाएपछि फर्किने बेला विमानस्थलसम्मै पुर्याउन जाने सोचेका थिए।
उनको यो इच्छा इच्छामै सीमित रह्यो।
भदौ २३ गते जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर उनका छोराको मृत्यु भयो।
उनका छोरा हुन् — २५ वर्षीय गौरव जोशी।
गौरव अध्ययन र विदेश जाने सपना बोकेर तीन वर्षअघि काठमाडौं आएका थिए। काठमाडौं आएपछि वर्षदिनमा एकचोटि दसैं मनाउन मात्र घर फर्किन्थे।
अघिल्लोचोटि दसैं मनाएदेखि उनले छोरालाई भेटेका थिएनन्। यसपालि पनि छोरा आउने बेला भयो भनेर दिन गन्दै बसिरहेका थिए।
तर छोरा आएनन्, आयो उनको मृत्युको खबर!
गौरवको स्थायी घर कैलालीको धनगढी उपमहानगरपालिका-५, तारानगर हो। उनले प्लस-टूसम्म गाउँमै पढेका थिए। थप अध्ययन धनगढीमै गर्ने उनको सोच थियो। गाउँका साथीहरू एकपछि अर्को विदेश जान थालेपछि गौरव पनि साथीहरूकै लहलहैमा विदेश जाने तयारीमा लागे।
र, त्यसैको सिलसिलामा काठमाडौं आए।
सुरूमा उनको कोसिस अस्ट्रेलिया जाने थियो। त्यसमा सफल नभएपछि क्यानडा जान खोजे। त्यहाँ पनि असफल भएपछि पछिल्लो समय बेलायत जाने तयारी गरिरहेको उनका बुबा वासुदेव बताउँछन्।
'विदेश जाने कोसिसमा लागेकाले पनि हत्तपत्त घर आउँदैनथ्यो। बसमा आवतजावत गर्न २४ घन्टा लाग्छ। जहाजको भाडा महँगो छ। त्यसैले धेरैजसो काठमाडौंमै बस्थ्यो,' उनले भने, 'टाढा भए पनि कुरा त दिनहुँजसो भइरहन्थ्यो। ऊ सन्चै छ भनेपछि मन ढुक्क हुन्थ्यो।'
यसबीच गौरवले काठमाडौंमा आफ्नो जीविका चलाउन सानोतिनो काम पनि गरिरहेका थिए। स्थायी जागिर भने थिएन। अस्थायी रूपमा गर्ने कामबारे उनी परिवारलाई खासै धेरै जानकारी दिन्थेनन्।
पछिल्लो केही समयदेखि गौरव उत्साहित सुनिन्थे। बेलायतको भिसा लाग्छ भन्नेमा ढुक्क थिए। त्यही भएर यसपालि सपरिवार दसैं मनाउनुपर्छ भनिरहन्थे।
वासुदेवले पनि छोरा विदेश गए उनको भविष्य बन्छ र यता परिवारलाई पनि आर्थिक समस्या हुँदैन भन्ने आस थियो।
तर त्यो आस भदौ २३ को घटनाले गर्ल्यामगुर्लुम ढल्यो।
वासुदेवले अन्तिमचोटि छोरासँग कुरा गरेको भदौ २२ गते हो। उनी लामो समयदेखि जरा गाडेको भ्रष्टाचार र राजनीतिक बेथितिविरूद्ध नवयुवकहरू सडकमा ओर्लिन लागेको र त्यसमा आफू पनि सहभागी हुने जानकारी गराएका थिए।
'मसँग राम्रो फोन छैन। टुकटुके फोन छ। त्यसमै हामीले कुरा गरेका थियौं,' वासुदेवले भने, 'काठमाडौंमा आन्दोलन हुँदैछ र छोराले आफू पनि जान लागेको भनेपछि मैले नजा भनेँ। तर टेरेन।'
गौरवले उल्टै बुबालाई सम्झाउँदै भनेका थिए, 'स्कुल ड्रेसमा जाने हो बुबा, केही हुँदैन। ड्रेस लगाएर आएका विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली हान्न मिल्दैन। तपाईं चिन्ता नलिनू।'
'स्कुल ड्रेसमा जाने हो, केही हुँदैन भन्दै आन्दोलनमा गएको थियो, तीन गोली लागेर ज्यान गयो,' वासुदेवले यति भनेर अलि बेर केही बोल्नै सकेनन्।
गौरवसँगको अन्तिम कुराकानी 'टुकटुके' फोनबाट भएकाले मुख देख्न नपाएकोमा उनलाई थकथकी छ। प्रत्यक्ष अनुहार हेर्दै कुराकानी गर्न पाएको भए छोराले भनेको मान्थे कि भन्ने उनलाई लाग्छ।
वासुदेवकी छोरी पनि छन्। छोरीसँग स्मार्ट फोन छ। छोरीको स्मार्ट फोनबाट कुरा गर्दा भिडिओमा अनुहार हेरेरै बोल्थे। वर्षको एकचोटि भेट हुने भए पनि मोबाइलमा अनुहार देख्न पाउनु नै उनका लागि लाख थियो।
'अब त त्यही पनि देख्न नपाइने भयो,' वासुदेव भक्कानिए।
उनले छोराको मृत्युको खबर अरूले भनेपछि मात्र थाहा पाएका हुन्। गौरवले भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा अरूले देखाइदिएका थिए। पछि गोली लागेर ढलेको भिडिओ पनि सामाजिक सञ्जालमै देखे।
'भिडिओमा ढलेको मात्र देखिएको थियो, मृत्यु नै भयो भन्ने त सोचेकै थिइनँ,' उनले भने।
भदौ २३ गते राति गाउँका केही मान्छेले गौरव रगताम्मे भएको भिडिओ देखाए। त्यति हुँदा पनि उनलाई छोरा घाइते भएर उपचार गराइरहेका होलान् भन्ने लागेको थियो।
दोस्रो दिन भदौ २४ गते मृत्युको खबर आयो।
खबर सुनेपछि आमा र छोरीले आफूलाई सम्हाल्नै नसकेको उनले बताए।
लगत्तै उनीहरू काठमाडौं आउन चाहन्थे। अनेक कोसिस गरे। तर निषेधाज्ञा जारी भएकाले तत्काल काठमाडौं आउन सकेनन्।
'हामीले भदौ ३१ गते मात्र छोराको अनुहार देख्न पाएका थियौं,' उनले भने, 'त्यो पनि मैले मात्र हेरेँ, उसकी आमा र दिदीले त हेर्नै सकेनन्।'
उनका अनुसार त्यसै दिन सामूहिक शवयात्रापछि पशुपतिमा गौरवको अन्त्येष्टि गरियो। काजकिरिया पनि उनीहरूले पशुपतिमै गरे।
'दसैंमा छोरा घर आउँदा प्लेन चढाउन जाऊँला भन्ने सोचेको थिएँ, दागबत्ती दिन आउनुपर्यो,' वासुदेवले भने, 'हाम्रो त संसारै अन्धकार भयो।'
पशुपतिमा तेह्रदिने काजकिरिया सकेर फर्केपछि उनी काठमाडौं आएका छैनन्। जेनजी सहिद परिवार सघर्ष समितिले फोन गरेर उनको धारणा सोधिरहेको हुन्छ। तर छोरा नै बितेर गइसकेपछि कसैका बारेमा केही कुरा बोल्ने इच्छा नभएको उनी बताउँछन्।
'छोराको ज्यान नै गइसक्यो। अब के बोल्नू!' उनले भने, 'बुढेसकालको सहारा थियो, ढलिहाल्यो। अब जे हेर्नुपर्छ सरकारले हेरिदिए हुन्थ्यो।'
उनी यति मात्र भन्छन्, 'हामी बूढाबूढीको उमेर ढल्दै गएको छ। स्वास्थ्य उपचारको खर्च बेहोर्न सक्दैनौं। छोराको आस थियो, ऊ पनि रहेन। राज्यले यसमा ध्यान दिए हुन्थ्यो।'
यसबाहेक छोरीको रोजगारीका लागि पनि सरकारले पहल गरिदियोस् भन्ने उनको इच्छा छ।
***
यी पनि पढ्नुहोस्: