नेकपा एमालेका सचिव गोकर्ण विष्टले आसन्न ११औं महाधिवेशनमा पूरक दस्तावेज लैजाने तयारी भइरहेको बताएका छन्।
सेतोपाटीसँगको अन्तर्वार्तामा सचिव विष्टले नेपाली समाज भदौ २३ को आन्दोलनसम्म पुग्नुको कारणबारे पार्टीभित्र गम्भीर समीक्षा, विवेचना र आगामी निकासबारे छलफल आवश्यक रहेको बताउँदै फरक प्रतिवेदन जानुपर्ने धारणा राखेका हुन्।
'नेपाली समाजमा लामो समयदेखि असन्तुष्टि र अन्तरविरोध थियो। सेवा प्रवाह, शासन–प्रशासन र सत्ता सञ्चालनमा समस्या देखिएकै थियो। त्यसविरूद्ध असन्तुष्टि थपिँदै गएको थियो। सरकारले सामाजिक सञ्जाल समेत बन्द गरेपछि एक्कासि विस्फोट भयो,' उनले भने, 'त्यसको गम्भीर समीक्षा हुनु आवश्यक छ। पार्टीमा अहिलेसम्म छलफल भएको छैन। पूरक प्रतिवेदनमार्फत् विस्तृत छलफल हुनु आवश्यक छ।'
उनले भदौ २३ को घटनाका सम्बन्धमा विस्तृत छानबिन आवश्यक रहेको बताउँदै दोषीहरूमाथि कारबाही हुनुपर्ने बताए। २४ गतेको घटनालाई भने फरक ढंगले हेरिनुपर्ने धारणा राखे।
'भदौ २४ को घटना विध्वंश थियो, त्यसको पनि विस्तृत छानबिन गर्ने र दोषीमाथि कारबाही हुनैपर्छ,' उनले भने, 'दुवै घटनालाई फरक फरक व्यवहार गरिनुपर्छ।'
अध्यक्ष केपी शर्मा ओलीले यसपटकको महाधिवेशनमा छलफल नहुने बताएका थिए। उनले महाधिवेशनको उद्घाटन सत्रमा आफूले निर्देशनात्मक मन्तव्य दिने र त्योसँगै महाधिवेशन नेतृत्व चयनको दिशामा अघि बढ्ने बताएका थिए।
नीतिबारे भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले टुंग्याइसकेकाले त्यसमा छलफल नै आवश्यक नरहेको ओलीले बताएका थिए।
विष्टले महाधिवेशन बहसकै थलो भएकाले सबै आफ्ना विचार राख्न स्वतन्त्र र प्रतिनिधिहरूको सार्वभौम अधिकार भएको धारणा राखे।
चौथो र पाँचौं महाधिवेशनदेखि नै एमालेमा बहस, छलफलको परम्परा रहेको भन्दै महाधिवेशन विचार र नीति निर्माणको मूल थलो भएको उनले बताए।
'यस पटकको महाधिवेशनमा विचार, पार्टीका नीति र नेतृत्वका प्रश्नमा व्यापक छलफल हुनेछ,' उनले भने, 'अध्यक्षले कहाँ, कुन सन्दर्भमा यसपटक छलफल हुँदैन भन्नुभयो, हामीलाई थाहा छैन। तर अझ व्यापक छलफल हुन्छ।'
सचिव विष्टले आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनमा नीति र नेतृत्वको प्रश्नमा गम्भीर छलफल हुने बताए।
आठौं महाधिवेशनदेखि नै एमालेमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने परम्परा बसिसकेको बताउँदै आगामी महाधिवेशनमा पनि नेतृत्व चयन चुनावमार्फत नै हुने उनले उल्लेख गरे। अध्यक्षमा पनि प्रतिस्पर्धा हुने उनले बताए।
'हामीले आठौं महाधिवेशनदेखि नै पार्टी लोकतान्त्रिकरणको अभ्यास गर्दै आएका छौं। नेतृत्व चयनमा सहमति भयो भने त्यो उन्नत विधि नै भयो। सहमति भएन भने प्रतिस्पर्धा हुन्छ। पार्टी सामूहिक विवेक र नेतृत्व प्रणालीामार्फत् अघि बढ्छ,' उनले भने।
सचिव विष्टले एमाले निर्वाचनबाट नभाग्ने बताए। तर सुशीला कार्की नेतृत्वको सरकारले चुनावी वातावरण बनाउँदै त्यसका लागि सबै दललाई विश्वासमा लिनुपर्ने उनको भनाइ छ।
विष्टसँगको विस्तृत अन्तर्वार्ता शुक्रबार प्रकाशित हुनेछ।