नेपाली फिल्म 'जुनाः एक व्यथा' को टिजर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक मर्मस्पर्शी टिजरमा फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको पीडालाई देखाइएको छ।
बालविवाहले निम्ताएको असरको कथा टिजरमा प्रस्तुत छ।
टिजरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई स्थान दिइएको छ।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ।
फिल्म 'जुनाः एक व्यथा' गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो। फिल्म जीवन सेञ्चुरीले निर्देशन गरेका हुन्।
निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए।
उनले फिल्मले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ। फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ।
फिल्म माघ २५ गतेदेखि प्रदर्शनमा आउनेछ। यसलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।