अभिनेता तथा निर्माता दीपकराज गिरीले बाहिरी ब्यानरको फिल्ममा मुख्य कलाकारका रूपमा काम गर्ने भएका छन्।
उनले आमा सरस्वती मुभिजभन्दा बाहिरी ब्यानरको फिल्ममा काम गर्न लागेका हुन्।
अहिले 'जेरीः अनटप' बनाइरहेका निर्माता सरोज न्यौपानेको निर्माणमा बन्न लागेको आगामी अनटाइटल फिल्ममा दीपकराजले काम गर्ने पक्का भएको हो।
दीपकराज र सरोजबीच फिल्ममा सहकार्य गर्ने सम्झौता भएको छ। सहकार्यको सहमति भएको जानकारी दीपकराजले सामाजिक सञ्जाल फेसबुकबाट समेत दिएका छन्।
निर्माता सरोज न्यौपानेले केही समयअघि चलचित्र विकास बोर्डमा 'फनफनी घुमेर' शीर्षकको नाम दर्ता गरेका थिए। यो नाममा भने फिल्म निर्माण नहुने उनले बताए। 'स्क्रिप्ट त्यही हो। नाम फाइनल भएको छैन,' उनले भने, 'फिल्म कमेडी फ्यामिली ड्रामा हुनेछ।'
उनका अनुसार फिल्मको छायांकन जेठदेखि सुरू गरिनेछ।
दीपकराज गिरीले फिल्म निर्माणमा लागेपछि बाहिरी ब्यानरको 'शत्रु गते' मा मात्र काम गरेका थिए। त्यसअघि उनले फिल्म 'सुन्दर मेरो नाम' मा शीर्ष भूमिकामा अभिनय गरेका थिए।