फिल्म 'डोरी' को बिहीबार शुभमुहूर्त गरिएको छ।
ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको फिल्मको छायांकन आइतबारदेखि सुरू हुनेछ।
अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्देल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, नूतन लगायत कलाकारहरू मुहूर्त पूजामा सरिक हुँदै फिल्मको सफलताका कामना गरे। साथै, निर्देशक अरूण लामा, कार्यकारी निर्माता राज थापा, छायांकार सौरभ लामा र संगीतकार राजनराज सिवाकोटी लगायत टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रह्यो।
फिल्ममा कविता आले, सजन श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ।
'डोरी' ले नेपाली फिल्ममा नयाँ कथा र शैली पस्कने तयारी गरेको निर्देशक अरुण लामाले बताए।
सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथामार्फत जीवन्त बनाउने उनले बताए। 'यस फिल्मले दर्शकलाई आत्मसात् गराउनेछ, जहाँ उनीहरूले आफूलाई पात्रहरूमा देख्न सक्नेछन्,' उनले भने।
फिल्मकी प्रमुख अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएको बताइन्।
'यो फिल्ममा नयाँ आइडिया छ र यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ। मुहूर्तपछि ऊर्जा र उत्साहले भरिएकी छु। यो फिल्म सफल हुनेमा विश्वस्त छु,' बराइलीले भनिन्।
अभिनेता प्रवीण खतिवडाले ‘डोरी’ लाई विभिन्न श्रेणीको मिश्रण रहेको फिल्मका रूपमा परिभाषित गरे।
'यसमा रहस्यमय कथा, सामाजिक यथार्थवाद र सस्पेन्स क्राइमको संयोजन गरिएको छ,' उनले भने, 'यी तीन वटाको रोचक मिश्रणले दर्शकलाई मनोरञ्जन दिनेछ भन्ने विश्वास छ।'
फिल्मको लेखन पनि अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले 'स्क्रिप्ट डक्टरिङ' गरेका छन्। निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा छन्। फिल्ममा संगीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन्।