फिल्म ‘ज्वाइँ साब’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ।
जितु नेपाल र नीति शाह अभिनीत फिल्म यही नोभेम्बर २२ मा अस्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुन लागेको हो।
सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा आउँदो शुक्रबार फिल्म प्रदर्शन हुने भएको हो।
वसन्त निरौला निर्देशित फिल्मलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज गर्न लागेको हो।
दर्शकले 'ज्वाइँ साब' को माग गरेपछि प्रदर्शन गर्न लागिएको पाल्पा इन्टरटेनमेन्टका दिनेश श्रेष्ठले बताए।
उनले अन्य सहरहरुमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको जानकारी बताए।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायत कलाकारहरूको अभिनय छ ।
रेड आई फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ।
निर्माताका अनुसार फिल्मले नेपालमा ५ करोडमाथिको व्यापार गरेको थियो।