ललितपुरस्थित विकल्प आर्ट सेन्टरमा ट्रान्स–कल्चर क्याम्प (टिसीसी) प्रदर्शनी चलिरहेको छ। ६ महिनासम्म एक ठाउँ बसेर पाँच कलाकारले बनाएको कलाकृति यो प्रदर्शनीमा राखिएको छ।
मेडिकल क्षेत्रका समुन्द्र गुरूङको कलामा मानव शरीरका छाती, जोर्नीहरूको एक्स–रे छन् जसमा युभी–रे छर्ने हो भने त्यसमा कुदिँएका बायोनरी अंक (सुन्य र एक) हामीले देख्न सक्छौं। देभिना जोशीले आफ्नो कलामा मुसाका अनुहारमा मानव जीवनको अस्तव्यस्त दैनिकी देखाएकी छन्। उनको काममार्फत आधुनिक प्रविधी, एआई (आर्टिफिसियल इन्टेलिजेन्स) र आधुनिक दासत्व कति घातक हुन्छ भन्ने थाहा हुन्छ।
त्यसैगरी, सुसान्त राजभण्डारीले मानव मनोभावलाई समेट्ने प्रयास गरेका छन्। आयुष्का ढकालले आफ्नो कलामा बालापनका स्मृति र युवा हुँदै जाँदा नेपाली समाजको सामाजिक–आर्थिक परिवर्तनप्रति सचेत भएको कथा प्रस्तुत गरेकी छन्। त्यस्तै, अल्सु अधिकारीले लैंगिक असमान्ता र महिलाले विभिन्न क्षेत्रमा भोगेका अनुभवलाई समेटेकी छन्।