गुड फ्राइडे सिनेमा
सन् २००४ को कुरा हो।
डाक्टर मारिया बेनेट आफ्ना श्रीमान र तीन जना साना छोराहरूसँग थाइल्यान्ड घुम्न जान्छिन्। क्रिसमसको बिदा मनाउन हिँडेका उनीहरू भर्खरै बनेको अर्किड बीच रिसोर्टमा बसेका हुन्छन्।
दुई दिनसम्म उनीहरूले खुब रमाइलो गर्छन्। तर तेस्रो दिन उनीहरूको खुसी समुद्रको छालले बगाइदिन्छ। इन्डियन ओसनमा आएको सुनामीले उनीहरू बसेको रिसोर्टसहितको क्षेत्र तहसनहस पारिदिन्छ। मान्छेहरू बेपत्ता हुन्छन्, घाइते हुन्छन्, मर्छन्।
मारिया र उनका जेठा छोरा लुकासले भने भाग्यले एकअर्कालाई भेट्छन्। मारियाका अरू दुई छोरा र श्रीमान भेटिँदैनन्। उनीहरू सबैको मृत्यु भएको भन्ठानेर लुकास र मारिया दुखी हुन्छन्।
यता मारिया नराम्ररी घाइते भएकी हुन्छिन्। उनको छाती र खुट्टामा चोट हुन्छ। चारैतिर धमिलो पानीका बीच आमाछोरा यताउता भौंतारिन्छन्। त्यहीबीच उनीहरूले भग्नावशेषमा फसेका एक साना बालकको उद्धार गर्छन्।
केही समय भौंतारिएपछि उनीहरूको भेट स्थानीय बासिन्दाहरूसँग हुन्छ। स्थानीयले मारियाको चोटमा पट्टी बाँधेर उपचारका लागि सहरको अस्पताल पुर्याउँछन्। अस्पतालमा सुनामीमा परेर घाइते भएका सयौं मान्छे हुन्छन्। मारियाको चोट गम्भीर भएकाले उनको शल्यक्रिया गर्नुपर्ने हुन्छ। आफ्नो शल्यक्रिया चलुन्जेल उनले छोरा लुकासलाई केही काममा व्यस्त हुन भन्छिन्।
१२ वर्षे लुकास परिवारबाट अलग भएकाहरूलाई भेटाइदिने काममा लाग्छन्।
अरूका परिवार भेटेको देख्दा लुकासलाई आफ्नो परिवारको सम्झना आउँछ। पाँच र साढे सात वर्षका भाइहरू र बाबुलाई सम्झेर उनी भावुक हुन्छन्। एक बाबुलाई छोरासँग भेटाउन सफल भएपछि उनी खुसी हुँदै फर्केर आमा भएको ठाउँ आउँछन्।
तर उनकी आमा मारिया त्यहाँ हुँदिनन्। उनी सुतेको अस्पतालको बेड खाली हुन्छ। लुकासलाई मारियाको मृत्यु भएको बताइन्छ।
लुकास एक्ला हुन्छन्।
पहिले भाइहरू र बाबु, अहिले आमा पनि गुमाएपछि १२ वर्षे लुकासको अवस्था अब के होला? मारिया एकाएक अस्पतालको बेडबाट कसरी हराउँछिन्? के लुकासका बुवा र भाइहरू जिउँदै होलान्? लुकासले आफ्नो परिवारलाई फेरि देख्न पाऊलान्?
यो सबै थाहा पाउन फिल्म 'द इम्पोसिबल' हेर्नु होला।
आज गुड फ्राइडे सिनेमामा हामीले सिफारिस गरेको यो फिल्म सत्य घटनाबाट प्रेरित हो। सन् २००४ मा इन्डियन ओसनमा आएको सुनामी र भूकम्पमा थुप्रैले ज्यान गुमाएका र घाइते भएका थिए। त्यही घटनामा फसेको मारिया बेलोन र उनको परिवारको कथा यो फिल्ममा सुन्दर ढंगमा उतारिएको छ।
फिल्म सन् २०१२ मा रिलिज भएको हो। जे ए बयोनाद्वारा निर्देशित फिल्मले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो। यसमा पनि सबभन्दा धेरै प्रशंसा कलाकारहरूको अभिनयले पायो।
मारियाको भूमिकामा नाओमी वाट्सले एकदमै जीवन्त अभियन गरेकी छन्। उनले यही फिल्मका लागि अवार्डहरू पनि जितिन्। यसबाहेक लुकासको भूमिका निर्वाह गरेका टम हल्यान्डले तारिफयोग्य अभिनय गरेका छन्।
सन् २००४ को भूकम्प र सुनामीमा परेर बाँचेकाहरूले पनि यो फिल्मले घटना वास्तविक रूपमा उतार्न सफल भएको भन्दै प्रशंसा गरेका थिए। 'द इम्पोसिबल' बक्स अफिसमा पनि सफल फिल्म हो।
(फिल्म हेर्न watch on youtube मा क्लिक गर्नुहोला।)