२०७२ सालमा फिल्म 'पशुपति प्रसाद' ले राम्रो चर्चा पायो। यथार्थवादी भनिएको यो फिल्मले पाँच करोड रूपैयाँभन्दा धेरै कमाइ गरेको अनुमान छ। नेपाली फिल्मले कमै उठाएको गाउँले पात्रका समस्या र काठमाडौंमा बाँच्न तथा सानो रकम जम्मा गर्न एउटा पात्रले गरेको संघर्षले राम्रै चर्चा पायो।
धेरै मानिसको मनमा गढेको पशुपति प्रसादको अभिनय गर्ने खगेन्द्र लामिछानेले पनि चर्चा पाए। उनी पशुपति प्रसादका अभिनेता मात्र होइनन्, लेखक पनि हुन्।
पशुपति प्रसाद बनेर चर्चामा आएका खगेन्द्रलाई अहिलेसम्म पनि धेरैले प्रश्न गर्छन्, 'तपाईं त पशुपति प्रसाद जस्तै हुनुहुन्छ होला है?'
उनले दरबारमार्गमा आफ्नो अफिसको कुर्सीमा बसेर भने, 'भ्रममा नपर्नुहोस्, म पशुपति प्रसादजस्तो कोमल हृदय भएको, निर्दोष मन भएको, इमानदार मान्छे होइन। म त्यस्तो छैन।'
हुन पनि धेरै मानिसको मनमा इमानदारी, निर्दोषपन र छलकपट विहीन चरित्र भएको पात्र हो पशुपति प्रसाद। गाउँमा भूकम्पले बाआमा गुमाएपछि उनीहरूले लिएको ५० हजार ऋण तिर्न काठमाडौं आएको युवा हो पशुपति प्रसाद।
यो पात्र निर्माण गर्ने बेला यसका निर्देशक दिपेन्द्र के खनालले एउटा बालकको कथा खगेन्द्रलाई सुनाएका थिए। छलफल गर्दै जाँदा यो पात्रलाई युवा बनाउने र खगेन्द्रले नै अभिनय गर्ने सहमति भयो। त्यसपछि मात्रै खगेन्द्रले पशुपति प्रसाद लेख्न सुरू गरेका हुन्।
लेखक तथा कलाकारको रूपमा काम गर्न खगेन्द्रलाई सजिलो थिएन। लेख्ने बेलामा बागमतीको फोहोर पानीमा डुब्नुपर्ने दृश्य सम्झिँदा कसरी डुब्ने होला भन्ने मानसिक दुविधामा पनि परे। एक समय त यो पात्रको भूमिका निर्वाह गर्न सक्दिनँ भन्ने समेत लागेको उनी बताउँछन्। हरेस भने खाएनन्।
'दर्शकको मनमा गढ्ने एउटा पात्र निर्माण गर्दा धेरै काम गरिएको हुन्छ। यो पात्रका लागि देब्रे हात चलाउने प्रयोगसम्म गरेँ,' उनी भन्छन्।
एउटा बाल पात्रलाई युवा बनाएर त्यसलाई दर्शकको मनमा सफल पार्न ठूलो जोखिम थियो। खगेन्द्र यसमा सफल भए। उनले पात्र निर्वाह गर्न लिएको जोखिम भने पहिलो पटक थिएन। त्यस बेलासम्म पहिलो फिल्म 'बधशाला' तथा 'टलकजंग भर्सेस टुल्के' बाट उनले दर्शकसमक्ष आफ्नो छाप छाडिसकेका थिए।
बधशाला आफ्नो डेब्यु फिल्म हो भन्ने धेरैलाई थाहा नभएको जिकिर गर्छन् उनी। यसको कारण हो फिल्ममा उनको पात्रलाई ढाकिएको कालोपट्टी। बधशाला माओवादी युद्धताका नेपाली सेनाले विद्रोही भनेर समातिएका पात्रलाई गरिएको दमनको कथा हो।
यसमा खगेन्द्र एक इमानदार शिक्षक कृष्णको भूमिकामा छन्। अधिकांश समय कालोपट्टीले ढाकिएर अभिनय गरेकाले हुनसक्छ, दर्शकलाई यो पात्रले छोए पनि उनी धेरैको नजरमा परेका छैनन्।
आफ्नो पहिलो फिल्म सम्झिँदै उनी भन्छन्, 'आफूले छानेको भन्दा पनि संयोगले खेल्न परेको हो। निर्देशकको प्राथमिकतामा अर्कै कलाकार थिए तर अन्तिममा उनी काम गर्न असमर्थ भए। त्यसपछि मलाई पहिलो फिल्मी पात्र कृष्ण खेल्ने अवसर जुर्यो।'
उनका अनुसार यो फिल्ममा उनी 'निर्देशकको कलाकार' बनेका छन्। निर्देशक मनोज पण्डितले जस्तो भने, त्यस्तै अभिनय गरे। कृष्णका रूपमा अभिनय गर्दा क्यामरामा प्रत्यक्ष हेर्नु नपरेकाले सजिलै भयो। धेरे समय कालोपट्टी लगाइने भएकाले क्यामरा 'कन्सियस' पनि भएनन्।
खगेन्द्रले हाँस्दै सुनाए, 'मलाई यो भूमिका गर्दा रेडियो नाटक गरेको अनुभव भयो।'
तर यो फिल्म रिलिज हुनुअघि नै विवादमा पर्यो। नेपाली सेनाले फिल्ममाथि प्रश्न उठाएपछि प्रदर्शन रोकिएको खगेन्द्र बताउँछन्। निर्देशक मनोजले आफ्नो फिल्म सरोकार पक्षलाई देखाएर केही दृश्य काँटछाँट गरेपछि प्रदर्शनमा आयो।
धेरै कम समय पर्दामा देखिए पनि खगेन्द्र आफ्नो दमदार अभिनयको छाप छोड्न सफल भए।
पहिलो फिल्म संयोगले गर्न परे पनि दोस्रो फिल्म उनको सबभन्दा ठूलो सपना थियो। टलकजंग भर्सेस टुल्केमा अभिनय गर्न उनले 'सुन्तली' मा सुटिङ गरिसकेको भूमिका छाडेको बताउँछन्। दुई फिल्मको सुटिङ समय जुधेकाले उनले एउटा छाड्ने निर्णय गरेको बताए।
टुल्के नै किन त?
खगेन्द्र भन्छन्, 'यो पात्र मेरो नाटक गर्दादेखिको सपना हो।'
फिल्ममा आउनुअघि नाटकमा रमाएका खगेन्द्रलाई एकदिन अनुप बरालले लुस्यूनको र आ क्युको 'साँचो कथा' पढ्न दिएका थिए। उनलाई कथाले छोयो। यसको नाटक राम्रो हुने अनुपलाई सुनाए। दुवैको कुरा मिलेपछि खगेन्द्रले नाटक लेखे- टलकजंग भर्सेस टुल्के। निर्देशन गरे अनुपले।
'नाटकमा टलकजंग उर्फ टुल्केको भूमिका निर्वाह गर्ने तयारी गरेको थिएँ,' खगेन्द्रले भने, 'तर त्यही बेला मेरो बिबिसी नेपाली सेवामा नाटक लेखक तथा निर्देशकका रूपमा नाम निस्कियो।'
त्यति बेला उनलाई व्यक्तिगत तथा आर्थिक समस्या थियो। त्यसैले उनले आधा रिहर्सल गरिसकेको नाटक छाडेर जागिर खाने निधो गरे। जागिर खाए पनि उनलाई टुल्के पात्र अभिनय गर्न नपाएको थकथक रहिरह्यो। पछि त्यही पात्रमा आधारित भएर एकल नाटक लेख्ने कोसिस गरे, उनैलाई मन परेन।
पहिलो फिल्म बधशालापछि राम्रो टिम भए फिल्म बनाउँदा राम्रो हुने रहेछ भन्ने उनलाई लागेको थियो। त्यही बेला टुल्केको स्क्रिप्ट लेख्ने सोचे। लेख्न अनुपले नै सहयोग गरे। निर्देशक तथा अभिनेता निश्चल बस्नेत, रामकुमार बाँनिया, रोजिना सिटौला लगायत साथीहरूलाई देखाए। सबैले मिलेर फिल्म बनाउने तय भयो।
'टुल्केले मलाई तानिरहेको थियो। यस्ता पात्र गाउँमा देखेको थिएँ,' उनले भने, 'मेरो गाउँमा एक जना दाइ थिए, टुल्केजस्तै। उनी घरबाट निस्केपछि झगडा नगरी फर्किन्थेनन्। मनमा लागेको कुरा भनिहाल्थे। कहिले राम्रो भन्थे, कहिले नराम्रो। कसैले उनलाई माया गर्यो भने नजिकिन्थे।'
ती दाइलाई सानैदेखि देखेका खगेन्द्र उनको निर्दोष व्यवहारबाट प्रभावित थिए। टुल्केलाई तिनै दाइ र उनीजस्तै अरूको व्यवहार दिएको उनले बताए।
'यस्ता छलकपट नभएका मानिससँग म प्रभावित हुन्छु,' उनी भन्छन्, 'टुल्के दुई-तीन जना मान्छेका थोरैथोरै स्वभाव मिलाएर बनेको पात्र हो।'
त्यो पात्र बनाएको लगभग दशक पुग्न लाग्दा पनि दर्शकको मनमा ताजै रहेको उनको अनुभव छ। भन्छन्, 'टुल्के दर्शकले हलमा कमै हेरे, तर जसले हेरे साँच्चै मन पराए।'
उनी आफैंलाई पनि आफूले निर्वाह गरेको पात्रमध्ये टुल्के सबभन्दा मनपर्छ।
दर्शकको मनमा छाप छोड्न सफलमध्ये खगेन्द्रका तीन मुख्य पात्र पर्छन्, पशुपति प्रसाद, टुल्के र कृष्ण।
बधशालाबाहेक अहिलेसम्म खेलेका सबैजसो फिल्म उनले आफैं लेखेका छन्। 'टलकजंग भर्सेस टुल्के', 'पशुपति प्रसाद', 'धनपति', 'डमरूको डण्डिबियो' र 'जय भोले' मा उनका पात्र यथार्थवादी र समाजबाट टपक्क टिपेर ल्याएजस्ता छन्।
निर्देशक दिपेन्द्र के खनालसँगकै सहकार्यमा बनेको फिल्म धनपति पुस्तौंदेखि तराईमा बस्ने पहाडिया समुदायको पात्र हो। उसमा काजीजस्तो दरबारिया आडम्बर छ। खगेन्द्र र धनपतिको परिवेश फरक छ, अझ भाषिक परिवेशमा त आकाश-पाताल। यो भाषिक भिन्नता कम गर्न उनले साहित्यकार कल्पना बान्तवासँग हप्ता दिन भाषा शैलीबारे कक्षा नै लिएका थिए।
पशुपति प्रसादपछि बनेको यो फिल्मले सफलता भने पाउन सकेन। केहीले पशुपति प्रसाद र धनपति एउटै ढर्राका पात्र भयो भने। यसबारे उनी भन्छन्, 'फिल्म असफल भएको हो तर पात्र एकै होइन। कुन आधारमा त्यसलाई एकै मान्ने? ती पात्रको परिवेश फरक छ, बोल्ने तरिका फरक छ। दुई पात्रमा एक मात्र समानता भनेको अभिनेता हो।'
धनपति असफल हुनुमा आफ्नो निर्माण पक्षको कमजोरी भएको उनी बताउँछन्। कथा राम्रो भए पनि फिल्म बनाउँदा बजेट सीमित भएको र अन्य बाध्यताले कथाले मागेजस्तो क्लाइमेक्स बनाउन चुकेको उनले बताए।
'केही कुरा दर्शकलाई भन्नुपर्ने थियो तर विविध कारणले ती कुरा फिल्ममा भन्न सकिएन,' खगेन्द्रले भने।
यसपछि उनको अर्को फिल्म हो डमरूको डण्डिबियो। स्वर्गीय छेतेन गुरुङको कन्सेप्टमा बनेको यो फिल्ममा खगेन्द्र एक डण्डिबियो खेलाडीका रूपमा देखिएका छन्।
'छेतेनले कन्सेप्ट ल्याएपछि परिवर्तन गरेर लेख्न थालेको थिएँ,' उनी सम्झिन्छन्, 'त्यो बेला पनि हामी सँगै बसेर लेख्थ्यौं। छेतेन नभएको भए डमरूको डण्डिबियो लेख्न सक्दिनँ थिएँ। लेखकका रूपमा मेरो नाम नराख्न पनि भनेको थिएँ। मानेनन्।'
डमरूको पात्र अघिल्ला फिल्मभन्दा फरक थियो। त्यसैले उनले शारीरिक व्यायामका साथै डण्डिबियो खेल्ने तालिम लिए। तालिम र अभिनय दुवै बेला आफू खेलाडी हुँ भन्ने सोचेको उनी बताउँछन्।
खगेन्द्रको पछिल्लोपटक रिलिज भएको फिल्म जय भोले हो। यसले पनि व्यावसायिक रूपमा धेरै सफलता पाउन सकेन। यसमा पूर्वीय युवकका रूपमा देखिएका छन् उनी।
भने, 'मभन्दा ठ्याक्कै विपरीत पात्र हो, अलि नकारात्मक खालको। यो पात्र निर्वाह गर्न रमाइलो भएको थियो।'
स्याङ्जामा हुर्किएका उनलाई पूर्वीय हुलिया उतार्न पनि गाह्रो थियो। फिल्मकै लागि पूर्वेली साथीहरूसँग भाषा र लवज सिकेको उनी बताउँछन्। निर्देशक अशोक शर्माले पनि सहयोग गरे। लेख्नुअघि पूर्वी ठाउँ भ्रमण र त्यहाँका मानिससँग कुराकानी समेत गरेको उनले बताए।
उनको मेहनतले पात्रमा न्याय गरेको देखिन्छ।
यथार्थवादी फिल्मका लेखक तथा अभिनेताका रूपमा चिनिन सफल खगेन्द्रले पछिल्लो समय निर्देशनमा पनि हात हालेका छन्। निर्देशकका रूपमा उनको पहिलो फिल्म 'पानीफोटो' आउँदैछ। दुई वर्षअघि नै घोषणा गरिएको पानीफोटो उनैले लेखेको यही नामको नाटकमा आधारित छ। यो नाटक उनले १७ वर्षअघि लेखेका थिए।
'यसमा सशस्त्र युद्धमा हराएको छोरा खोजिरहेका आमाबाबुको कथा छ,' खगेन्द्रले भने।
पानीफोटोको पात्रमार्फत् निर्देशकका रूपमा खगेन्द्रले दर्शकमा कस्तो छाप छाड्नेछन्, यसका लागि आउँदो भदौसम्म त कुर्नैपर्यो!