भारतका चर्चित युट्युबर तथा बिग बोस विजेता एल्विश यादवको हरियाणास्थित घरमा गोली प्रहार भएको छ।
गुरूग्राममा रहेको घर बाहिर अज्ञात समूहले आइतबार बिहान करिब ५ः३० बजेतिर गोली प्रहार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन जना नकाबधारी आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए। यस घटनामा कुनै पनि मानवीय क्षति भने नभएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
एल्विश हाल हरियाणा बाहिर छन्। आक्रमणका बेला घरमा उनका रेखदेख गर्ने व्यक्ति र परिवारका केही सदस्य उपस्थित थिए। तर कसैलाई पनि चोटपटक नलागेको जनाइएको छ।
एल्विश उक्त भवनको दोस्रो र तेस्रो तल्लामा बस्छन्। गोली प्रहारबाट भुइँ र पहिलो तलामा क्षति पुगेको छ भने सिसाहरू फुटेका छन्।
घटनाको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले फरेन्सिक नमुना संकलन गरी वरपरका सीसीटीभी फुटेजबाट अनुसन्धान सुरू गरेको छ।
परिवारले औपचारिक उजुरी दिएपछि कानुनी प्रक्रिया अगाडि बढाइने र विस्तृत अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन्।
एल्विशले सन् २०१६ मा आफ्नो युट्युब च्यानल सुरू गरेका थिए। उनका भिडिओ सामाग्रीले युट्युबमा करोडौं भ्युज पाउने गरेका छन्। गायक तथा मोडल समेत रहेका उनी रियालिटी शो 'बिग बोस' जितेपछि थप चर्चामा आएका थिए।