निर्देशक चन्द्र पन्तको आगामी फिल्म 'आ बाट आमा' को अस्ट्रेलिया र न्युजिल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री भएको छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको दुई देशको प्रदर्शन अधिकार हिमारू इन्टरटेन्मेन्ट प्रा.लि.ले खरिद गरेको हो।
मातृत्वको संवेदनशील कथामा आधारित रहने यो फिल्मको विदेशमा माग बढ्न थालेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा पल शाह, उषा उप्रेती, विपना थापा, सिम्रन पन्त, दक्षिण भारतीय अभिनेता प्रदीप रावत लगायतको मुख्य अभिनय रहनेछ। यी कलाकारहरू फिल्मका लागि फाइनल भइसकेका छन्।
फिल्मले आमा र सन्तानबीचको गहिरो भावनात्मक सम्बन्धको कथा भन्ने बताइएको छ। यही महिनाबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मका अन्य कलाकार तथा प्राविधिकहरूको छनोट कार्य जारी रहेको र छिट्टै टुंगो लगाइने निर्माण पक्षले जनाएको छ।
फिल्म 'आ बाट आमा' आउँदो फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ। यसको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ।
