(पाकिस्तानी कवि फैज अहमद फैजसँग सन् १९८२ मा अनवर इक्बालले लिएको अन्तर्वार्ता सुरज सुवेदीको अनुवादमा। यो अन्तर्वार्ता Dawn.com प्रकाशित छ।)
छानोले छोपिएको बजार नजिकै पर्ने एउटा घर अगाडि रोकिन्छु।
यहाँ बेगम सर्फरज इकबाल बस्नुहुन्थ्यो। त्यो घर पुग्ने रोडलाई अहिले उहाँकै नामले चिनिन्छ। यो त्यही ठाउँ जहाँ मैले उर्दू साहित्यका महान् कवि फैज अहमद फैज साहेबको अन्तर्वार्ता लिएको थिएँ। त्यसपछि धेरै वर्ष बितिगए।
त्यो अन्तर्वार्ता १९८२ जुन २८ मा इस्लामावादबाट प्रकाशित हुने ‘दि मुस्लिम’ पत्रिकामा छापियो।
त्यो बेला इस्लामावाद सानो थियो। बाटोमा सल्लो र मसलाका रुखहरू लस्करै उभिएका हुन्थे। हिँड्दा पात बिछ्याएको ठाउँमा हिँडेजस्तो लाग्थ्यो।
हावा मौसमी फूलहरूको बास्ना बोकेर दगुर्थ्यो। बर्खा लाग्नासाथ ठूलो झरी चिसो कोसेली ल्याउँथ्यो। जाडो मौसममा त्यो चिसो झनै अनौठो हुन्थ्यो।
अहिले आकाशै छोप्ने गरी उड्ने धुलो उबेला थिएन। रुखले धुलोलाई माथि जान दिँदैन थियो। घाँसको पातलो कार्पेट माटोलाई धुलो बन्न हुँदैन भन्थ्यो।
ती सबै कुरा बिस्तारै हराउँदै गए। के इस्लामावाद पनि हराउँदै छ? नहोस् चाहन्छु, तर धेरै कुरा परिवर्तन भइसके। हाम्रो पुस्ता इस्लामावादसँग जोडिएका अनेक ठाउँहरू तीव्र गतिले हराउँदै छन्।
बेगम सरफ्रज इक्बाल र फैज साहेब दुवैले संसार छोडिसक्नुभो। त्यो ठूलो छानो भएको बजार अहिले छैन। आधा पहिला नै भत्काइसकियो। आधा डोजर पर्खिरहे झैं देखिन्छ।
म जब पहिलोपल्ट १९८२ मा यो घरमा आएको थिएँ त्यस बेला फैज साहेब, बेगम सर्फरज र त्यो बजार बाँचिरहेका थिए।
‘तिमीलाई नै पर्खिरहेकी थिएँ,’ घरमा छिर्नासाथ बेगम सर्फरजले भन्नुभो।
उहाँले मेरो अनुरोधमा फैज साहेबसँग अन्तर्वार्ताको अवसर जुटाइदिनुभएको थियो। मेरा प्रश्न जाँचेर स्वीकृति दिएपछि मात्र अगाडl बढ्ने उहाँको सर्त।
भन्नुभएको थियो ‘सेन्सरसिपमा विश्वास गर्दिनँ तर भर्खरै करिअर सुरु गरेको मान्छेले यस्तो ठूलो अन्तर्वार्ता थेग्ला भनेर पत्याइहाल्न सकिनँ।’
मैले प्रश्नहरू देखाएँ। दुईपल्ट पढ्नुभो अनि म तिर हेर्दै भन्नुभो, ‘अन्तर्वार्ता लिने कुरा बिर्सिदेऊ। म फैज साहेबसँग चिया खाने व्यवस्थासम्म मिलाइदिउँला। खाएर फर्किनू।’
‘किन?’ म हडबढाएँ।
‘यी प्रश्न कम र राजनैतिक अभिव्यक्ति ज्यादा भए। उर्दू पाकिस्तानको राष्ट्रिय भाषा हुनु हुँदैन, राज्य विचारधारा नभएको हुनुपर्छ, ‘कलाको लागि कला’ को पाकिस्तानमा कुनै स्थान छैन, र धार्मिक राजनीति बन्द हुनुपर्छ। आदि आदि। यहाँ प्रश्नहरू कहाँ छन्? एक कवि यस्ता विवादास्पद विषयहरूमा किन तानिनु?’
उहाँको असहमतिले मलाई चिन्तित बनायो। पहिलो गाँसमै ढुंगा। अन्तर्वार्ता मेरोलागि विशेष हुने थियो। तयारी गरेको थिएँ। तर उहाँको खण्डन सुनेर आफ्नो बचाउको प्रयास गरिनँ। गर्नु हुँदैन पनि थियो।
उहाँले ‘प्रश्नहरू कहाँ छन्?’ भनिसक्नु र फैज साहेब कोठामा आउनु एकैपल्ट भयो।
‘बिहान बिहानै कोसँग रिसाइरहेकी छौ?’ साहेबले सोध्नुभयो।
'दि मुस्लिम’ बाट यो नव-पत्रकार आएको छ। तपाईंसँग अन्तर्वार्ता मिलाइदिन्छु भनेकी थिएँ तर प्रश्नहरू एक कविलाई सोधिने भन्दा धेरै राजनैतिक प्रकृतिका रहेछन्।’
‘हैन हैन। नरिसाऊ। युवाहरूसँग रिसाउनु हुँदैन,’ फैज साहेबले मलाई प्रश्न देखाउन भन्नुभो।
आशाको किरण मनमा आइपुग्यो। प्रश्न लिएर उहाँले खाना पर्खिरहेको डाइनिङ टेबलमा गएँ। उहाँले भने झैं ३ कप चिया बनाएँ।
प्रश्न लेखिएको कागज राख्दै भन्नुभयो ‘अब तिम्रो डायरी निकाल। ब्रेकफास्टसँगै अन्तर्वार्ता पनि सकिदिऊँ।’
अन्तर्वार्ता सुरु भयो।
उहाँ प्रश्न पढ्नुहुन्थ्यो र भन्नुहुन्थ्यो ‘यसलाई अर्को तरिकाले लेखौं।’
बेगमले सही भन्नुभएको रहेछ।
एकैछिनमा उहाँले हरेक राजनैतिक अभिव्यक्तिलाई मैले उठाउन खोजेको विषय नमार्ने गरी साहित्यिक मुद्दा बनाइदिनुभयो। र, एउटा सुन्दर लेखनमा आफ्नो भावनालाई कसरी मिसाउने भन्ने पनि बताउनुभो।
‘एक असल अन्तर्वार्ताकारले अन्तर्वार्ता दिने व्यक्तिबाट आफूले लिन चाहेको कुरा बोलाउने प्रयास गर्नुपर्छ। आफैंले भन्नुहुँदैन। एकदम शान्त भएर, प्रक्रिया नबिगारी र निक्कै राम्रो तयारी गरेर मात्र प्रश्न सोध्नुपर्छ। ज्यादा भावुक भएर काम चल्दैन,’ उहाँले भन्नुभयो।
‘दि मुस्लिम’मा प्रकाशित भएको यो अन्तर्वार्ता इकरम अजमको किताब ‘पोइम्स फ्रम फैज’ (१९८२) मा पनि प्रकाशित भयो। कारण एकै थियो फैज साहेब नव-पत्रकारलाई समेत समेट्न चाहनुहुन्थ्यो। एउटा कमसल कवि भएको भए समय नष्ट गरेको आरोपमा सायद त्यही दिन बाहिर पठाइन्थ्यो होला मलाई।
तपाईं आफूलाई धरातलको मान्छे भनेर चिनाउनुहुन्छ तर तल मानिसहरू जुन अवस्थामा छन् त्यही अवस्थामा छाड्दिनुहुन्छ भनिन्छ नि?
यदि मलाई राजनैतिक दृश्यबाट हराएको भन्न खोज्दै हुनुहुन्छ भने यो फरक कुरा हो। म विगतमा राजनीतिमा नलागेको हैन तर पछि छोडेँ। म कवि हुँ, राजनीतिज्ञ हैन।
तर जनताप्रतिको मेरो प्रेमको सन्दर्भमा बोल्दा मैले आफूमा जहिल्यै उनीहरू पाउने गरेको छु। म मेरा मानिस र माटोप्रति गर्व गर्छु। मैले उनीहरूलाई कहिल्यै छोडेको छैन। कहिल्यै टाढा हुने पनि छैन।
त्यसो हो भने पाकिस्तानमा बस्नुको साटो बैरुटमा किन बस्नुभएको त?
हो लाखौं पाकिस्तानीहरू देशभन्दा बाहिर बसिरहेका छन्। तर त्यसको अर्थ उनीहरू पाकिस्तानलाई माया गर्दैनन् भनेर कसैले भन्न सक्दैन। म बैरुटमा काम गरिरहेको छु। त्यहाँको ‘लोटस’ पत्रिकाको सम्पादक छु र यो मेरो जिम्मेवारी पनि हो। त्यसैले केही समयको लागि बैरुटमै बसिरहेको हुँ।
पाकिस्तान कहिले फर्किने सोच्नुभएको छ?
निकट भविष्यमा नै। म फेरि बैरुट जानुछ र ‘लोटस’को लागि केही बैकल्पिक व्यवस्था गर्नु छ। त्यसपछि सायद फर्किन पाउँछु।
भियतनाम र प्यालेस्टाइनको बारेमा बोल्न अघि सर्ने फैज कास्मिरको बारेमा चुप बस्छ भन्ने आरोप सुनिन्छ नि। यो सत्य हो?
मैले कास्मिरको बारेमा बोलेको छैन भनेर कसले भन्छ? पाकिस्तान टाइम्समा मैले लेखेका सम्पादकीय हेर्नुभयो भने तपाईंलाई थाहा हुन्छ। म चुप बसेको छैन।
भियतनाम र प्यालेस्टाइनको विषयमा मैले दुवै मुद्दालाई समर्थन गरेको छु। यी दुई अन्तर्राष्ट्रिय विषयमा आफूले लिएको पक्षप्रति गर्व गर्छु।
पछिल्लो समय पाकिस्तानमा धेरै महत्त्वपूर्ण घटना भएका छन्। ती घटनाको प्रतिबिम्ब तपाईंका कवितामा आइपुगे कि आइपुगेनन्?
म जे कुरा देख्छु, पढ्छु, र महशुस गर्छु ती सबैले मेरो दिमागमा स्थान लिइसकेका हुन्छन्। तीनै कुरा पछि गएर मेरो कवितामा प्रतिबिम्बित हुने हुन्।
मेरो पछिल्लो कविता संग्रह ‘मेरे दिल मेरे मुसाफिर’ ले पाकिस्तान, यहाँका मानिस र तिनका भावना संग्रहित गरेको छ। म पाकिस्तानी हुँ र अरू पाकिस्तानीले जस्तै मैले आफूलाई यहाँको राष्ट्रिय जीवनको मूलप्रवाहबाट बाहिर पुगेको महशुस गरेकै छैन। मेरो कविताका केही हिस्सा मेरा व्यक्तिगत अनुभव हुन्, त केही मेरो देशको अनुहार।
पछिल्लो समय कवि तथा लेखकहरू आफूले देखेका वा महशुस गरेका कुरा व्यक्त गर्न सावधान बन्दै गएको देखिन्छ। उनीहरूको रवैया तपाईंलाई कस्तो लाग्छ?
यसमा नयाँ कुरा केही पनि छैन। जब जब अवस्था असहज बन्दै जान्छ, केही लेखक आफ्नै संसारमा शरणार्थी बनिसक्छन्। आफ्नो बचाउमा ‘कलाको लागि कला’ र ‘व्यक्तिगत सौन्दर्य’ का किस्सा निकाल्छन्। यी सबै आदर्शवादी रवैया हुन्।
तर हबिन जलिब जस्ता थोरै मानिस पनि छन् जो आफ्नो लेखकीय जिम्मेवारीबाट भाग्दैनन् र भइरहेका विषयमा आफ्नो विचार अझै खुलेर राख्छन्।
‘कलाको लागि कला’ बारे तपाईंलाई के भन्नु छ?
जति नै विषयगत भए पनि यसले कुनै कालखण्डको सामाजिक वातावरण र त्यो समयका केही निश्चित व्यक्ति वा समूहको धारणा/दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ। तर कला वास्तविक भने हुनुपर्छ।
अहिले हाम्रा लेखकहरूले जे लेखिरहेका छन् ती वास्तविक छन् कि छैनन्?
केही छन् र केही छैनन्। यस्तो पहिलादेखि नै भइरहेको हो। केही साहित्य फेसनको रूपमा लेखिएका छन् भने केहीसँग जीवन भोगाइको किस्सा भेटिन्छ। कुनै कालखण्डमा लेखिएका सबै कुरा वास्तविक हुँदैनन्।
महत्त्वपूर्ण कुरा के भने लेखक वा कवि जो भए पनि उसको प्रमुख ध्येय शाब्दिक इन्द्रजाल बिछ्याउने वा अरूको नक्कल गर्ने नभएर आफ्नो अनुभवलाई इमानदार भएर प्रतिबिम्बित गर्ने हुनुपर्छ।
हाम्रो उर्दू साहित्यले केवल एक वर्गको अनुभव, भावना वा स्वार्थलाई मात्र प्रतिबिम्बित गरिरहेको छ जस्तो लाग्छ कि लाग्दैन?
विडम्बनाको कुरा अहिलेसम्म केवल निश्चित वर्गका मानिसको मात्र उर्दू भाषामा बलियो पकड छ। उनीहरू सुन्दर रचना गर्न सक्षम भएका छन्। त्यसरी हेर्दा यसले केवल एक वर्गको मात्र प्रतिनिधित्व गरेको साँचो हो। तर त्यसको मतलब उर्दूमा जे लेखिएको छ त्यो निश्चित वर्गको बारेमा मात्र हो भन्न भने मिल्दैन।
विश्वका सबै महान् कविहरू सर्वहारा वर्गका मात्र छैनन्। त्यसैले को कुन वर्गमा पर्छ भन्ने कुरा महत्त्वपूर्ण हैन। उसले के विषयमा लेखिरहेको छ र के कुरामा विश्वास गर्छ भन्ने कुरा मुख्य हो।
उर्दूमा जे लेखिएको छ त्यो सर्वसाधारण मानिसको बोलीसम्म पुग्न नसकेको त मान्नुहुन्छ?
हैन। यो पनि गलत बुझाइ हो। अहिले सर्वहारा वर्गका मानिसहरू पनि उर्दू पढ्दैछन्। पढेका तथा कम पढेका सबैसम्म उर्दू साहित्य पुग्दैछ। खासमा भन्नुपर्दा पढ्दै नपढेका मानिसको बोलीमा पनि उर्दू छ।
त्यो बुलेह शाह, शाह लतीफ या रहमान बाबा जस्ता लोक कविका कविता जस्तो सर्वसाधारणको जनजिब्रोमा पुगेका छैनन् भन्ने त मान्नुहुन्छ नि?
यहाँ जहिल्यै पनि दुई खाले आवाज सुनिन्छन्। हाम्रो साहित्यमा मात्र नभएर यस्तै सामाजिक संरचना भएको सबैतिर अवस्था उस्तै हो। एउटाले सर्वसाधारणको आवाज प्रतिबिम्बित गर्छ भने अर्कोले अदालतको। तर अदालतको आवाजमा पनि त साधारण मानिसको जीवन प्रतिबिम्बित हुन्छ नै।
आवाज एउटै हो माध्यम फरक हो। कविता आफैंमा बोलीचालीको भाषा हैन। यसलाई पनि एकप्रकारले औपचारिक बनाइन्छ। बुलेह शाह, शाह लतीफ या रहमान बाबा मात्र लोक कवि हैनन्। लोक कवितामा सबैको योगदान उस्तै छ। यो कुनै एक व्यक्तिको काँधमा अडिएको हुँदैन।
कलाका अरू विधामा पनि यही कुरा गर्न सकिन्छ। लोक कलाको अभिव्यक्ति सामाजिक कलाको अभिव्यक्तिभन्दा जहिल्यै फरक छ। तर यी दुई कुरा एकअर्कलाई सिध्याएर हैन एकअर्कामा मिसिएर अगाडि बढ्छन्।
कवि र लेखकले जे लेखिरहेका छन् ती पाकिस्तानको विचारधारा अनुरूप छैनन् भन्ने पनि सुनिन्छ। यसबारेमा तपाईं के भन्नुहुन्छ?
पहिलो कुरा त पाकिस्तानको विचारधारा के हो भन्ने भन्ने प्रश्नले धेरै कुरा निर्धारण गर्छ। यसमा सबैको धारणा फरक हुन सक्छ।
यदि कसैले त्यसलाई धर्म भनेर बुझ्छ भने हामी सबै इस्लाममा विश्वास गर्छौं। फरक देखिने भनेको विवेचनामा हो विश्वासमा हैन। धेरै मानिसहरू इस्लामलाई फरक तरिकाले विवेचना गर्छन् र उनीहरूको कुरामा जो सहमत छैन तिनलाई गलत बनाइदिन्छन्।
वास्तवमा भन्दा उनीहरूको चिन्ता विवेचनाको पनि हैन। यो त राजनीति हो। र, जब तपाईं राजनीतिको कुरा गर्नुहुन्छ त्यहाँ फरक विचार हुनु सामान्य मानिन्छ।
तपाईं पाकिस्तानको विचारधारामा विश्वास गर्नुहुन्न भन्ने आरोप सुन्नुभएको छ कि छैन?
उनीहरू जे भन्दा रमाइलो लाग्छ भन्न स्वतन्त्र छन्। म पाकिस्तानको विचारधारामा विश्वास नगर्ने हुन सक्दैन किनकि म जे लेख्छु त्यसमा पनि त्यो विचारधाराको प्रभाव छ। साँच्चै भन्दा म त्यसबाट कहिल्यै अलग्गिएकै छैन। यति हुँदाहुँदै पनि त्यसप्रतिको मेरो विचार र धारणा अरूको भन्दा अलग हुन्छ भने त्यो मेरो चिन्ताको विषय हैन।
उर्दूलाई पाकिस्तानमा ‘पछि थोपरिएको भाषा’ पनि भनिन्छ जसले अरू धेरै स्थानीय भाषालाई विस्थापन गरिदियो। यसले आफ्नो उद्देश्य पूरा गर्न सक्यो कि सकेन? कि यो पनि अन्य भाषाले फेरि बिस्थापित गरिनुपर्छ?
उर्दू बिना हामी केही गर्न सक्दैनौं। यो पूर्ण विकसित भाषा हो। यसले ३०० वर्ष भन्दा लामो विकासक्रमलाई झेलिसकेको छ। अरू भाषाहरू त्यो चरणमा पुग्न समय लाग्छ। यसको मतलब उनीहरूले बिस्थापित गर्नै सक्दैनन् भनेको हैन तर त्यो भविष्य आउन निकै बाँकी छ।
हामीलाई विकसित भाषा नै चाहिएको भए अंग्रेजी पनि लिन सकिन्थ्यो नि हैन र? अंग्रेजी उर्दूभन्दा ज्यादा विकसित पनि थियो।
पाकिस्तानमा अंग्रेजी कि त निश्चित स्कुलमा जानेहरू बोल्छन् कि त निश्चित पारिवारिक पृष्ठभूमि भएकाहरू। उनीहरू सम्पूर्ण जनसंख्याको १ प्रतिशत पनि हैनन्। जबकि उर्दू पाकिस्तानका बहुसंख्यक मानिसहरू बुझ्छन्, बोल्छन्।
कलाकार नसुरिद्धिन शाहले बाचन गरेको फैजको चर्चित कविता: