सुर्खेतमा सम्पन्न राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।
बिहीबार भएको उपाधि भिडन्तमा पहिलो सेट एपिएफले २५-२२ ले जित्यो।
त्यसपछि पुलिसले २५-१९, २५-१८ र २५-२३ को जित निकाल्दै उपाधि जित्यो।
यताविभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गर्यो। आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो।
यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
पहिलो सेट गण्डकीले २५–२२ अंकले जित्यो। दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो। उक्त सेटमा आर्मी २६–२४ अंकले विजयी भयो। तेस्रोमा गण्डकीले २६–२४ अंकले बाजी मार्यो। २४–२४ अंकको बराबरी भएको अवस्थमा गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अंक दिलाएपछि जित सहज भयो।
चौथो सेटमा गण्डकी पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्न सफल भयो। उक्त सेट गण्डकीले २५–२२ अंकले जित्यो ।