कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
आज भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपिएफले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।
एपिएफले पहिलो सेट २५-२३ ले जित्दा दोस्रो सेटमा २५-२० र तेस्रो सेटमा २५-१५ को जित निकाल्यो।
दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले अर्को विभागीय टिम नेपाल आर्मीलाई ३-० कै सेटमा जित निकाल्दै फाइनलमा एपिएफसँगको भेट पक्का गर्यो।
पुलिसले पहिलो सेट २५-२१ ले जित्दा दोस्रो सेटमा २५-२३ र तेस्रो सेटमा २५-१९ को जित निकाल्यो। अब फाइनल र तेस्रो स्थानको खेल बिहीबार हुनेछ।
यही पुस २० गतेदेखि सञ्चालन भएको प्रतियोगिताबाट कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समूह चरणबाट बाहिरिएका थिए।