काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग ३-२ को सेटमा पराजित भएको छ।
शुक्रबार भएको खेलमा पराजित भएसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर भएको छ।
पहिलो सेट नेपालले २२-२५ ले गुमाएको थियो। दोस्रो सेटमा नेपालले २५-२१ अंकको जित निकालेपछि खेल १-१ को अवस्थामा आयो।
तेस्रो सेटमा फेरि साउदीले २५-२३ को जित निकाल्यो। चौथो सेटमा नेपाल २७-२५ ले विजयी भएपछि खेल २-२ को बराबरी भएको थियो।
पाँचौ सेटमा १६-१४ ले पराजित भएपछि नेपालले खेल ३-२ ले हार्यो।
नेपालले अघिल्ला तीन मध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको थियो।
यसअघि नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएको थियो। नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल आयोजक श्रीलंकासँग ३-० ले पराजित भएको थियो।
अब नेपालले उज्वेकिस्तानसँग असोज २७ मा खेल्नेछ। राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन्। फाइनल र तेस्रो स्थानको खेल असोज २८ मा हुनेछ।