काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो जित हात पारेको छ। श्रीलंकामा भइरहेको प्रतियोगितामा नेपालले बुधबार अफगानिस्तानमाथि ३-२ को जित निकालेको हो।
खेलमा नेपालले पहिलो सेट २५-१९ ले जितेर राम्रो सुरूवात गरेको थियो। तर नेपाल दोस्रो सेटमा १९-२५ र तेस्रो सेटमा २२-२५ ले पराजित भएपछि अफगानिस्तानले खेलमा २-१ को अग्रता लिएको थियो।
चौथो सेट नेपालले २५-२१ ले जितेर खेललाई बराबरीमा ल्यायो। पाँचौ तथा निर्णायक सेटमा १५-१० को जित निकालेसँगै खेल नेपालले ३-२ ले जित्न सफल भयो।
यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल आयोजक श्रीलंकासँग ३-० ले पराजित भएको थियो।
अब नेपालले साउदी अरेबियासँग असोज २५ तथा उज्वेकिस्तानसँग असोज २७ मा खेल्नेछ।
राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन्। फाइनल र तेस्रो स्थानको खेल असोज २८ मा हुनेछ।