नेपाल पुलिस क्लबको महिला टोलीले सातौ प्रधानमन्त्री कप ए.भि.ए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० मा लगातार तीन जित निकालेको छ।
आज सम्पन्न खेलमा पुलिसको महिला टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै थप ३ अंक जोडेको छ।
पुलिसले एक तर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको हो। यस जित संगै पुलिसको ९ अंक भएको छ। यस अघि पुलिसले गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो।
नेपाल भलिबल संघको आयोजनमा भएको लिग प्रतियोगिताको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–८, २५–८ को सोझो सेटमा पराजित गर्दै आफ्नो खातामा थप ३ अंक जोडेको छ।
एपिएफको लिगमा यो दोश्रो जित हो। यस अघि एपिएफले आर्मीलाई पराजित गरेको थियो। एपिएफको ५ अंक भएको छ। आर्मी संग एपिएफले अंक बाडेँको थियो।
यस्तै आजै सम्पन्न महिला तर्फको अर्को खेलमा होङ्गवान्जी न्यु डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो। डायमन्डले २५–१७, २५–१२, २५–१२ को जित निकालेको हो। यस संगै डायमन्डको ६ अंक भएको छ। यस अघि डायमन्डले गण्डकीलाई पराजित गर्दै ३ अंक जोडेको थियो। अंक तालिकामा डायमन्ड दोश्रो स्थानमा रहेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपाल क्लबले दोश्रो जित आत्मसाथ गरेको छ। आज सम्पन्न खेलमा हेल्प नेपालले दावाँली मिलन क्लबलाई ३–० सेटमा पराजित गरेको हो। पहिलो सेट २५–१७ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–२२ र तेश्रो सेट २५–२१ ले जित्दै थप ३ अंक आफ्नो खातामा लेखाएको हो। यसका साथै हेल्प नेपालको ६ अंक भएको छ। हेल्प नेपालले यस अघि सैलुङ्ग बाघढुङ्गालाई पराजित गर्दै ३ अंक जोडेको थियो।
पुरुष तर्फकै अर्को खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले पराजित ग¥यो। संघर्षपूर्ण खेलमा आर्मीले ३ भारतीय खेलाडी सम्मिलित टोली गण्डकीलाई २५–१९, २६–२४, ३३–३१ ले पराजित गरेको हो। यस जितका साथ आर्मीको ९ अंक भएको छ। यस अघि आर्मीले दावाँली मिलन क्लब र सैलुङ्ग बाघढुङ्गलाई जितेको थियो।