त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० मा लगातार दोश्रो जित निकाल्दै अंक तालिकामा समान ६÷६ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएका छन् ।
आर्मीले दोश्रो दिन दोश्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले पराजित गर्दै थप ३ अंक जोड्न सफल भएको छ । पहिलो दिनको खेलमा आर्मीले सैलुङ्ग बाघढुङ्गलाई पराजित गरेर ३ अंक जोडेको थियो ।
यस्तै एपिएफले पनि आज भएको आफ्नो दोश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै थप ३ अंक जोडेको हो । पहिलो सेट २१–२५ ले गुमाएको एपिएफ खेलमा फर्कदै लगातार बाँकी तीन सेट २५–२१, २५–२३, २५–१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो । हिजोको पहिलो खेलमा एपिएफले दावाली मिलन क्लबलाई पराजित गरेको थियो ।
प्रतियोगिताको दावेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् कलब, रामेछापलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो । ३ पाकिस्तानी खेलाडी सहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङ्गलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गरेको हो ।
नेपाल भलिबल संघको आयोजनमा भएको लिगको महिला तर्फको खेलमा एपिएफले आर्मीलाई ३–२ सेटले पराजित गर्दै अंक बाँढ्न बाध्य भयो । संघर्षपूर्ण खेलमा पहिलो र दोश्रो सेट ३०–२८, २५–२३ ले जितेको एपिएफले तेश्रो र चौथो सेट गुमाउन पुग्यो । आर्मीले तेश्रो सेट २०–२५ र चौथो सेट १९–२५ ले जित्यो । निर्णायक तथा पाँचौ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५–६ ले जित हात पार्दै जितलाई आत्मसाथ गरेता पनि आर्मी संग अंक बाँढ्न पुग्यो । आजको जितबाट एपिएफको २ अंक र हारका बावजुद पनि आर्मीको १ अंक भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्यो । डायमन्डले गण्डकीलाइ २५–१७, २५–१६, २५–१५ ले पराजित गरेको हो ।