नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार दिउँसो भएको खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो।
योसँगै नेपाल आफ्नो समूह विजेता बन्न चुकेको छ। पहिलो र दोस्रो सेट गुमाए पनि नेपाल तेस्रो सेटमा पुरानागमन गर्दै खेलमा फर्किएको थियो। तर चौथो सेटमा २५-२१ को नतिजा निकाल्दै भारतले जित पक्का गर्यो।
अहिलेसम्म भारतलाई हराउन नसकेको नेपाल यो हारसँगै इतिहास रच्नबाट फेरि एकपटक चुकेको छ। पछिल्लो पटक १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पनि नेपाल भारतसँगै हार व्यहोर्दा स्वर्ण पदक हात पार्नबाट चुकेको थियो।
भारतसँग पराजित भए पनि नेपालको सेमिफाइनल स्थान यसअघि नै पक्का भइसकेको छ। अघिल्ला दुई खेलहरूमा जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो। नेपालले किर्गिस्तान र बंगलादेशलाई हराएको थियो।
आजै समूह 'बी' अन्तर्गत भएको अर्को खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएर कजाकस्तान समूह विजेता बनेको छ। अब नेपालले फाइनल प्रवेशका लागि कजाकस्तानसँग शुक्रबार खेल्ने छ। जेठ १४ सम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ राष्ट्रको सहभागिता रहेको छ।