नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एशियन भलिबल एसोशियसन (काभा) महिला भलिबल च्यालेन्ज कप २०२३ आज सोमबारबाट सुरु भएको छ।
समूह चरणको पहिलो खेलमा नेपालले सहज जित हात पारेको छ। नेपालले किर्गिस्तानलाई २५–११, २५–१९, २१–११ को सहज जित हात पार्दै महत्वपूर्ण तीन अंक जोडेको छ।
यस्तै आजै भएको पहिलो खेलमा च्याम्पियनसिपको बलियो टिम मानिएको भारतले पनि जित निकाल्दै ३ अंक जोडेको छ।
भारतले बंगलादेशमाथि ३–० को सहज जित निकालेको हो। भारतले बंगलादेशलाई २५–३, २५–९, २५–६ को सहज जित हात पारेको हो ।
अर्को समूहको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि ३–० को जित निकाल्यो। पहिलो सेटमा २७–२५ को जित निकालेको उज्वेकिस्तानले दोश्रो सेटमा २५–२० र तेश्रो सेटमा २५–१४ ले पराजित गर्दै ३ अंक जोडेको हो।
प्रधानमन्त्रीद्वारा उद्घाटन
च्याम्पियनसिपको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आजैका दिन २०७४ साल जेष्ठ ८ (२२ मे २०१७) मा आफ्नै पालामा राष्ट्रिय खेलको रुपमा भलिबल चयन गरिएकोमा सोहि दिन पारेर आज सेन्ट्रल एशियन प्रतियोगिता नेपालमा आयोजना हुनुले आफुलाई निकैनै खुशी दिलाएको बताए।
उनले भलिबलको विकासमा आफू सदा सहयोग गर्न तयार रहेको बताए।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपालले यस प्रतियोगिता ल्याउने क्रममा बिदेशी संस्थाले नेपालमा बतानुकुलित कभर्डहल भए नभएको बारे जानकारी लिएको भन्दै राष्ट्रिय खेल भलिबल घोषणा गर्ने सरकाका प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्रीनै भएको अवस्थामा बातानुकुलित एक कभर्डहल बनाउन आशा ब्यक्त गरे।