'मेयर कप–२०८०' खुल्ला महिला तथा पुरुष भलिबलमा बिभागीय टिम नेपाल पुलिस क्लब समूह बिजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ।
महिलातर्फ समूह ‘ए’को खेलमा आर्मीलाई हराउँदै नेपाल पुलिस समूह बिजेता बनेको हो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२० ले जितेको पुलिसले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा २५–२१ र २६–२४ को जित निकाल्दै नेपाल पुलिस बिजेता बनेको हो ।
समूह ‘ए’कोे खेलमा पुलिसले चार अंक जोड्यो । आर्मीले मात्र दुई अंक जोड्यो । कोटेश्वर बहुमुखी क्याम्पस अंक विहिन भयो । महिलातर्फको अर्को खेलमा ललितपुर महानगरपालिकाले परोपकार गल्स होस्टेललाई ३–२ को सेटमा पाखा लगायो । ललितपुरले परोपकारलाई २६–२४, २५–१७, २३–२५, २८–३० र १५–१३ को सेटमा हरायो ।
पुरुषतर्फ बोगटी समाज ललितपुरले सुर्य बिनायक युथ क्लबलाई ३–२ को सेटमा हरायो। बोगटी समाज ललितपुरले सुर्य बिनायकलाई २१–२५, २५–२१, २७–२५, २२–२५, १५–१३ को सेटमा हराएको हो । अर्को खेलमा नेपाल पुलिस क्लबले नेपाल गणतान्त्रिक खेलकुदमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले नेपाल गणतान्त्रिक खेलकुदमाथि २५–१७, २५–१७ र २५–१० को सेटमा हराएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदानगरिनेछ ।