ललितरपुरमा जारी 'मेयर कप-२०८०' खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र न्युडायमण्ड सेमिफाइनल प्रवेश गरेका छन्।
सोमबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा न्युडायमण्डले ललितपुर महानगरपालिका र एपिएफले परोपकार गल्स होस्टेललाई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन्।
न्युडायमण्डले ललितपुर महानगरलाई २५–१, २५–१२ र २५–८ को सेटमा पराजित गर्यो भने एपीएफले परोपकारलाई २५–६, २५–४ र २५–३ को सेटमा पाखा लगायो।
पुरुषतर्फको खेलमा पुलिसले पाटन बहुमुखी क्याम्पस र आर्मीले बोगटी समाज ललितपुरलाई ३–० को सोझो सेटमा हरायो। पुलिसले पाटन बहुमुखीमाथि २५–१३, २५–१० र २५–१४ को स्कोरमा र आर्मीले बोगटी समाजलाई २५–८, २५–१४ र २५–९ को स्कोरमा हरायो।
ललितपुर महानगरपालिकाद्धारा आयोजित प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।