राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।
शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा पदक विजेता पलेशालाई राष्ट्रपति पौडेलले सम्मान गरेका हुन्।
प्रशिक्षक कविराज नेगी लामालाई पनि राष्ट्रपतिले बधाई दिएका थिए।
सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उचाे पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए।
कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु-आमा र खेल संघका पदाधिकारी उक्त कार्यक्रममा सहभागी थिए।
पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्।