नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई काठमाडौं महागनरले नगदसहित सम्मान गरको छ।
पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई काठमाडौंले ५ लाख रूपैयाँले सम्मान गरेको हो। यस्तै प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रूपैयाँ प्रदान गरिएको छ।
बुधबार स्वदेश फर्किएका पलेशा र कविराजसहितको टोलीलाई त्रिभुवन विमानास्थलमा भव्य स्वगत गरिएको थियो भने नगर परिक्रमा गराइएको थियो।
गत शुक्रबार अबेर राति पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।
पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। पलेशाले खेल्ने के-४४ विधा ‘एउटा हातको कुहिना भन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।
रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्।
रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। क्वाटरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन्।
लगातार दोश्रो पारालिम्पिक खेलेकी पलेशाले टोकियो पारालिम्पिकको सोही तौलसमूहको रिपेचेजमामा पनि मरिजालाई नै हराउदै कास्य पदक भिडन्त पक्का गरेकी थिइन्। तर कास्य पदकका लागि भएको भिडन्तमा भने पलेशा चीनकी लि युजीसंग १२–९ ले चुकेकी थिइन्।
पलेशाले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो। कुनैपनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन्। नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो। गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कास्य जितेको इतिहास छ। सन् १९८८ मा दक्षिण कोरियामा भएको २४ औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धि हासिल गरेका थिए। प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन।