नेपाललाई पारालिम्पिकमा ऐतिहासिक काश्य पदक दिलाएकी पलेशा गोबर्धन बुधबार स्वदेश फर्किएकी छिन्।
उनको स्वागतमा बुधबार बिहान खेलकुद मन्त्रीसहित राखेपका पदाधिकारीहरू त्रिभुवन विमानस्थल पुगेका थिए। त्यहाँ बाजागाजासहित पलेशाको भव्य स्वागत गरिएको थियो।
पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षक कविराज नेगी लामालाई नगर परिक्रमा गराइँदै राखेपमा विशेष समारोह आयोजना गरिएको थियो।
कार्यक्रममा पलेशा र प्रशिक्षक लामाले पारालिम्पिकको अनुभवसमेत सुनाए।
पलेशाले एउटा मेडल जित्दा आफ्नो यति धेरै चर्चा हुन्छ भनेर नसोचेको बताइन्। उनले मेडल आफूले नभई सम्पूर्ण नेपालीहरुले जितेको पनि बताइन्।
यसले नेपालले पनि ओलम्पिकमा मेडल जित्न सक्छ भन्ने सन्देश गएको उनले बताइन्। साथै अन्य विधाका खेलाडीहरुलाई पनि उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
उनले ओलम्पिककै लागि लामो तयारी गर्न नपाएको पनि गुनासो गरिन्।
‘त्यति धेरै सुविधा थिएन। अन्तिम एक महिना प्रशिक्षण गरेका थियौं। एक महिनाको अवधिमा ट्रेनिङ गरेका थियौं। खेलको दिनमा मैले गर्न सक्छु भन्ने आत्मविश्वास थियो। र गरेँ,’ पलेशाले भनिन्।
आफूले आफूलाई विश्वास गर्दा कुनैपनि लक्ष्य हासिल हुन सक्ने पनि उनले बताइन्। ‘यो सुरूवात मात्रै हो। अझै धेरै बाँकी छ,’ उनले भनिन्।
प्रशिक्षक लामाले पलेशाको मेहनताका लागि धन्यवाद दिइन्। उनले फाइनलमा पुग्नेमा विश्वस्त भएको तर बीचमा रोकिनुपरेको बताए।
‘रोकिएपछि पलेशाले रिपाचे बाँकी छ होइन भनेर सोध्नुभएको थियो। रिपाचेमा जसरी पनि मेडल ल्याउनुपर्छ गुरू, चिन्ता नलिनु भन्नुभएको थियो,’ प्रशिक्षक लामाले भने।
उनले पलेशाले आफूलाई सफल प्रशिक्षक बनाएको पनि बताए।
‘मेरो प्रशिक्षकमा ११ वट पदक प्राप्त भएको छ । त्यसमध्ये सबैभन्दा ठूलो पदक पलेशाले दिनुभयो। उहाँले मात्रै चारवटा पदक ल्याउनुभएको छ। सफल प्रशिक्षक बनाइदिएकोमा पलेशालाई धन्यवाद,’ उनले भने।
उनले मेडल सम्पूर्ण नेपालीको रहेको पनि बताए। यसले नेपालले पनि मेडल जित्न सक्छ भन्ने सन्देश गएको र अमेरिकामा हुने अर्को पारालिम्पिकमा अझ धेरै मेडल ल्याउन सक्ने र २०२६ मा जापानमा हुने एसियन गेम्समा मेडल ल्याउन सक्ने बताए।
यसअघि २०२० को टोकियो ओलम्पिकमा मेडल नजिक पुगेर पराजित हुनुपरेको र त्यसको परिपूर्ति पनि अहिले भएको बताए।