कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अन्तरमेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता सुरू भएको छ। आइतबारदेखि प्रतियोगिता सुरू भएको हो।
खेलकुदका माध्यमबाट कर्णालीमा भइरहेको स्वास्थ्य, सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका कार्यहरूको बारेमा जागरण फैलाउने उद्देश्यले अन्तरमेडिकल कलेजस्तरीय खेलकुदको आयोजना गरिएको हो।
प्रतियोगिता भदौ २१ गतेसम्म चल्ने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए।
उनका अनुसार देशभरका २७ मेडिकल कलेजलाई खेलकुद प्रतियोगितामा सामेल हुन पत्र पठाइएको थियो। जसमध्ये पाँच वटा कलेजले भाग लिएका छन्।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम, राजर्षिजनक विश्वविद्यालय जनकपुरधाम, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, किस्ट मेडिकल कलेज ललितपुर र महाराजगन्ज चिकित्सा क्याम्पस, चिकित्साशात्र अध्ययन संस्थान महारजगञ्ज प्रतियोगितामा सहभागी भएका छन्।
यी कलेजबाट ११६ जना विद्यार्थी सहभागी भएको डा. रावलले बताए।
प्रतियोगितामा महिला पुरुष भलिबल, फुटबल, क्रिकेट, टेबल टेनिस, चेस, दौड, कविता र हाजिरी जवाफ लगायतका प्रतियोगिताहरु सञ्चालन गरिनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ, मेडल तथा प्रमाण पत्र प्रदान गरिने गरिनेछ।