साफ यू-२० च्याम्पियनसिप २०२४ को उपाधिका लागि आयोजक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा बंगलादेशले अग्रता लिएको छ। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशले अग्रता लियो।
बंगलादेशका लागि मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे। डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले दोस्रो बार च्यापेर हानेको प्रहार पोलमा लागेर जाली चुमेको थियो।
त्यसअघि राम थापाले मिराजुललाई लडाएपछि बंगलादेशले फ्रिकिक पाएको थियो।
खेलमा नेपालले पहिलो हाफमा पाएका दुई अवसर खेर फाल्यो।
खेलको दशौं मिनेटमा निराजन धामीले हानेको उत्कृष्ट प्रहारलाई बंगलादेशका गोलकिपर आसिफ हकले विफल पारेका थिए।
२१ मिनेटमा निराजनको उत्कृष्ट पासमा डिबक्समा रहेका अभिनास स्याङ्तान प्रहार गर्न चुकेका थिए।
सन् २०१५ र २०१७ को विजेता नेपाल तेस्रो उपाधिको खोजीमा छ। बंगलादेश भने पहिलो उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।