दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नै आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्को जोड रहेको सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्।
प्रतियोगिताकै लागि आफूले दुई पटकसम्म परिषद्को बोर्ड बैठकका लागि प्रस्ताव गरेको भन्दै वर्तमान युवा तथा खेलकुद मन्त्रीसँग पनि यस विषयमा छलफल भइरहेको जानकारी दिए।
दशौं राष्ट्रिय खेलकुदका सम्वन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गराएको ध्यानाकर्षण पत्र बुझ्दै सदस्य सचिव घिसिङले प्रतियोगिता आयोजना स्थल कर्णालीमा निर्माण भईरहेका खेलपूर्वाधारको हालै खेलकुद मन्त्री सहितको टोलीले अध्ययन अवलोकन समेत गरेको जानकारी दिए।
निर्धारित समयमै आयोजनाका लागि पूर्वाधारको सूनिश्चित गर्न परिषद्ले प्राविधिक टीम खटाएको भन्दै खेलाडीहरुको चासोले प्रतियोगिता आयोजनालाई थप बल पुग्ने बताए।
संघका अध्यक्ष दिपक श्रेष्ठले बुझाउनुभएको पत्रमा पूर्व निर्धारित मिति २०८१ मंसिर २ देखि ९ गते नै दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न परिषद्को ध्यानाकर्षण गराएको हो। प्रतियोगिताका सम्वन्धमा आशंका बढंन थालेको भन्दै सो निवारण हुने गरि खेलाडी तथा खेलकर्मीहरुलाई जानकारी दिन आग्रह गरिएको छ।