नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले दक्षिण कोरियामा हुने दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका खेल सञ्चालन गर्ने भएका छन्।
सुरूमा अशोकले कोरियाको मुजु शहरमा अगस्ट १७ देखि २० सम्म हुने विश्व वरीयता जी-१ किम योङ कप अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
उनले प्रतियोगितामा पुम्से र ग्यारोगी गरी दुवै विधाको प्रतिस्पर्धाका खेल सञ्चालन गर्नेछन्।
उनी गत संस्करणमा पनि यो प्रतियोगिताको निर्णायक बनेका थिए।
त्यससपछि उनले सोलमा हुने १४औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को खेल सञ्चालन गर्नेछन्। आइओएफटिसी प्रतियोगिता अगस्ट २४ मा आयोजना हुँदैछ।
दुई प्रतियोगिताका खेल सञ्चालन गर्न अशोक आजै कोरिया प्रस्थान गर्दैछन्।
अन्तर्राष्ट्रिय निर्णायक अशोकले पछिल्लो पटक युरोपमा दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।
अशोकले अस्ट्रेलियाको भियनामा भएको विश्व वरीयता जी वान अस्ट्रियन ओपन पुम्से र जर्मनीमा भएको डिटियू बोडेन्स कपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।
खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका उनले दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन्।