आगामी मंसिरको पहिलो सातादेखि कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको कार्यविधिमा छलफल प्रक्रिया अगाडि बढेको छ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधवार खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको टोलीले उक्त कार्यविधि छलफल गरी त्यसले अन्तिम टुंगो लगाउने प्रक्रिया अगाडि बढाएको हो ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी मंसिर २ देखि ९ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण आयोजना हुँदैछ। मन्त्री चौधरीले यस पटक राष्ट्रिय खेलकुद निर्धारित समयमा नै हुने प्रष्ट पारिसकेका छन्। त्यसैले आयोजनाको तयारीलाई तिब्रता दिन आवश्यक कामका प्रक्रिया अगाडि बढेको छ।
बुधवार मन्त्रालयमा राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेटका खाका, स्थानीय व्यवस्थापन र खेलाडी छनोटलगायत विषयका बारेमा पनि छलफल भएको थियो। यसअघि नै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ। लोगोमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय झण्डा र कर्णाली नदीलाई समेटिएको छ। मस्कटमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ। नेपाली खेलकुदका निकायले सय दिनभन्दा कम समय बाँकी रहँदा राष्ट्रिय खेलकुद आयोजनाको तयारीमा तिब्रता पारेको छ ।
बुधवार मन्त्रालयमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रिको पोशाक, खेल सामग्री र व्यवस्थपकीय पक्षका बारेमा छलफल भएको थियो।
उक्त दशौं राष्ट्रिय खेलकुद कार्यविधि र आयोजनाका लागि आवश्यक अन्य तयारी प्रक्रियाका बारेमा राखेपको बोर्डबाट पास गर्नुपर्ने हुन्छ । यद्यपि, लामो समयसम्म राखेपको बोर्ड बैठक बस्न सकेको छैन। यस्तो स्थितिमा राष्ट्रिय खेलकुद निर्धारित समयमा हुनेमा संका पनि उत्पन्न भइरहेको छ आगामी राष्ट्रिय खेलकुदको सय दिनको काउन्ट डाउन पनि गत सातादेखि नै सुरु भइसकेको छ ।
दशौं खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल कर्णाली प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम असोजभित्रमा सम्पन्न हुने कर्णाली खेलकुद विकास समितिले लक्ष्य राखेको छ। यसपल्ट राष्ट्रिय प्रतियोगितामा ३६ वटा खेल सञ्चालन गरिँदैछ। तीमध्ये कर्णालीमा २४ खेलहरू खेलाइने तयारी भएको छ। बाँकी खेलहरू प्रदेश बाहिर आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस भएको छ।
कर्णालीका १० जिल्लामध्ये अधिकांस खेलहरू सुर्खेतमा हुने भएपनि केही खेल हिमाली र पहाडी जिल्लामा पनि आयोजना गर्ने तयारी गरिएको छ। राष्ट्रिय सडक सञ्जालको पहुँच पनि नपुगेको हुम्लामा समेत दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरू हुनेछन्। परिषद्ले हुम्लामा हक्की खेल खेलाउने तयारी गरेको छ ।
-न्युज एजेन्सी नेपाल