पेरिस ओलम्पिक २०२४ मा नेपालकी सन्तोषी श्रेष्ठले अप्ठेरो रूट मानिएको महिला म्याराथनको दौड आइतबार पूरा गरेकी छिन्।
सन्तोषीले पेरिसमा नेपाली पत्रकारहरूसँग कुरा गर्दै पेरिसको अप्ठेरो रूटमा दौड पूरा गर्न सकेकोमा खुसी व्यक्त गरिन्।
‘पेरिस ओलम्पिकमा आउनुअघि राष्ट्रिय कीर्तिमान बनाउने सोचेको थिएँ। तर पेरिस आइपुगेपछि प्रशिक्षक र टोली व्यवस्थापकसँग कुरा गरेर रूट हेरेपछि कीर्तिमानभन्दा ‘जस्ट इन्जोए द रेस’ भन्नु भयो,’ उनले भनिन्।
‘पुरुषले सक्छ भने महिलाले किन नसक्ने पनि भन्ने थियो। कीर्तिमान बनाउने पुरुष खेलाडीसँग कुरा पनि भयो। उहाँले समयभन्दा पनि दौड पूरा गरेर आफू र देशलाई गर्व गर्न लायक बनाउ भन्नुभयो। यदि तिमी छिटो गयौं भने दौड पूरा नहुने सम्भावना बढी छ भन्नुभयो।’
उनले १५ किलोमिटरसम्म आफ्नो गति राम्रो भएको र त्यसपछि गति घट्न थालेको बताइन्।
‘१५ किलोमिटरसम्म मज्जाले दौडिरहेकी थिए। ३५ किलोमिटरपछि गति बढाएर राष्ट्रिय कीर्तिमान बनाउछु भन्ने थियो। तर १५ किलोमिटरपछि अलि उकालो आयो। अनि बिस्तारै गति कम भयो। त्यसपछि स्ट्रङ्गभन्दा स्मार्ट हुनुपर्छ भन्ने लाग्यो। यसरी गर्दा थोरैले राष्ट्रिय कीर्तिमान बन्ला तर मलाई अरु पनि खेल खेल्नुछ भन्ने लाग्यो। शरीर दुख्न पनि थालिसकेको थियो। त्यसैले मुर्ख नहोउ स्मार्ट होउ भन्दै आफूलाई कम्फर्ट जोनमा राखेर दौडलाई आनन्द लिएर अघि बढे। बीचमा दौड छाड्नुभन्दा दौड पूरा गर्छु भन्ने सोचर अघि बढे।’
उनले ओलम्पिकको दौड पूरा सकेकोमा आफूलाई पहिलो स्वर्णभन्दा पनि खुसी लागेको बताइन्।
महिला म्याराथनमा सन्तोषीले एक जनालाई मात्र पछि पार्न सकिन्। भुटानकी खेलाडीभन्दा अघि दौड पूरा गरेकी उनले २ घन्टा ५५ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दा ७९औं स्थानमा रहिन्।
दौड पूरा गरेपछि महिला म्याराथनको स्वर्ण जितेकी नेदरल्यान्ड्सकी हसनसहित धेरैले सन्तोषीलाई फिनिसिङ लाइनमा स्वागत तथा बधाइ दिएका थिए। कतिपयले सन्तोषी दौड पूरा गर्ने खेलाडीमध्येमा 'रिल्याक्स' देखिएको समेत बताएका थिए।
यसअघि २ घन्टा ४० मिनेट भित्रमा दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी सन्तोषी त्यसमा भने सफल हुन सकिनन्। यद्यपी कठिन मनिएको पेरिसको म्याराथन भने उनले पूरा गर्न सफल भइन्। महिला म्याराथनमा ११ धावकले बीचैमा दौड त्याग गरेका थिए।
महिला म्याराथनको राष्ट्रिय कीर्तिमान सन्तोषीकी नाममा छ। उनले गत जनावरीमा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनमा स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यतिबेल उनले २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै पुष्पा भण्डारीको नाममा रहेको कीर्तिमान भंग गरेकी थिइन्।
गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा १० हजार मिटरमा दौडिएकी सन्तोषी सन् २०१९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा १० हजार मिटरमा स्वर्ण जितेकी थिइन्। त्यो नेपाली महिला खेलाडीले एथ्लेटिक्समा जितेको पहिलो स्वर्ण थियो।
महिला म्याराथनको स्वर्ण नेदरल्यान्ड्सकी हसन सिफनले २ घन्टा २२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेर जितिन्। इथियोपियाकी असेफा टेगेस्टले २ घन्टा २२ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै रजत र केन्याकी ओबिरी हलेनले २ घन्टा २३ मिनेट १० सेकेन्डमा कास्य पदक हात पारिन्।
यसअघि नेपालबाट प्रतिस्पर्धा गरेका ६ खेलाडीको पनि पहिलो चरणमै चुनौती सकिएको थियो। जसमा ब्याडमिन्टमा प्रिन्स दाहाल, टेबलटेनिसमा स्यान्टु श्रेष्ठ,सुटिङमा सुस्मिता नेपाल, जुडोमा मनिता श्रेष्ठ प्रधान, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह थिए।