पेरिस ओलम्पिक २०२४ को अन्तिम दिन महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ लक्ष्य अनुरूप प्रदर्शन गर्न असफल भएकी छिन्।
आज भएको महिला म्याराथनमा सन्तोषीले एक जनालाई मात्र पछि पार्न सकिन्। भुटानकी खेलाडीभन्दा अघि दौड पूरा गरेकी उनले २ घन्टा ५५ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दा ७९औं स्थानमा रहिन्।
यसअघि २ घन्टा ४० मिनेट भित्रमा दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी सन्तोषी त्यसमा भने सफल हुन सकिनन्। यद्यपी कठिन मनिएको पेरिसको म्याराथन भने उनले पूरा गर्न सफल भइन्। महिला म्याराथनमा ११ धावकले बीचैमा दौड त्याग गरेका थिए।
महिला म्याराथनको राष्ट्रिय कीर्तिमान सन्तोषीकी नाममा छ। उनले गत जनावरीमा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनमा स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यतिबेल उनले २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै पुष्पा भण्डारीको नाममा रहेको कीर्तिमान भंग गरेकी थिइन्।
गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा १० हजार मिटरमा दौडिएकी सन्तोषी सन् २०१९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा १० हजार मिटरमा स्वर्ण जितेकी थिइन्। त्यो नेपाली महिला खेलाडीले एथ्लेटिक्समा जितेको पहिलो स्वर्ण थियो।
महिला म्याराथनको स्वर्ण नेदरल्यान्ड्सकी हसन सिफनले २ घन्टा २२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेर जितिन्। इथियोपियाकी असेफा टेगेस्टले २ घन्टा २२ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै रजत र केन्याकी ओबिरी हलेनले २ घन्टा २३ मिनेट १० सेकेन्डमा कास्य पदक हात पारिन्।
यसअघि नेपालबाट प्रतिस्पर्धा गरेका ६ खेलाडीको पनि पहिलो चरणमै चुनौती सकिएको थियो। जसमा ब्याडमिन्टमा प्रिन्स दाहाल, टेबलटेनिसमा स्यान्टु श्रेष्ठ,सुटिङमा सुस्मिता नेपाल, जुडोमा मनिता श्रेष्ठ प्रधान, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह थिए।