युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन्।
बुधबार त्रिपुरेश्वरस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निःवर्तमान उपाध्यक्ष शिव कोईरालाको बिदाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले खेलाडीहका जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान खेलाडी पलायन भइरहने बताए। उनले सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरुलाई केके सुविधा दिँदा जीविका चलाउन सहज हुन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गर्ने पनि बताए।
उनले खेलाडीहरुका लागि भन्दा आफ्ना लागि बढी सोच्ने मन्त्रालय मातहतका खेलकुद निकायहरुलाई अप्रिय निर्णय लिने चेतावनी दिए। उनले सरकारले उत्कृष्ट खेलाडीहरुको वर्गीकरण गर्न लागेको जानकारी दिँदै उनीहरुका दुई सन्तानसम्मलाई कक्षा १२ सम्मको शिक्षा राम्रा विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको पनि बताए।
उनले भने, ‘जुन देशमा खेलाडीका लागि राम्रो काम गर्न सक्दैनन्, सुविधा पाउन सक्दैनन्, उसको खर्च कटौती गरेर उसको हरेक चिज काटेर हामी जथाभावी गरिन्छ भने त्यो देशको खेल क्षेत्र कहिल्यै प्रगति हुँदैन, खेलाडीहरु यसैगरी विदेश पलायन भइरहन्छन्। हाम्रो एउटा लक्ष्य के छ भने हाम्रो देशका खेलाडीहरुलाई सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरुलाई केके सुविधा दिँदा उसको जीविका चलाउन सकिन्छ, बाच्न सकिन्छ भन्ने हिसावले हाम्रो खेल क्षेत्रका पदाधिकारीहरुलाई सोच्न आग्रह गर्दछु। त्यो भिजनमा जानसक्नु भएन भने कतिपय कुरा म अप्रिय निर्णय लिनसक्छु। आफ्नो सुविधाको लागि जे पनि गर्न तयार तर खेलाडीको लागि कुनै मतलव नराखेपछि कहाँ राम्रो हुन्छ। संघमा विवाद छ, तदर्थ समिति, संघ, संघ बी, संघ सी, के संघ हो यो? एउटा संघ हुँदा हुँदै दुई वटा संघ हुन्छ। केही त स्वार्थ होला नी। दुई वटा संघ भएपछि खेलाडीहरु तानातान गर्ने हो। कोच तानातान गर्ने हो । यि कुरामा ध्यान दिन आग्रह गर्दछु। हामी राम्रो खेलाडीको क्याटोगोरी छुट्याउँदै छौँ। उनीहरुका छोराछोरीहरुलाई कक्षा १२ सम्म प्याब्सनसँग सम्झौता हुँदैछ। उनीहरुको छोराछोरीलाई १२ कक्षासम्म निःशुल्क पढाउने, केही छुट दिएर पढाउने व्यवस्था गर्नेछौँ।’
मन्त्री चौधरीले खेलाडीको जीवन बीमा बढाउने गरी सरकारले सोचिरहेको बताए। उनले खेलाडीहरुको स्वास्थ्य बीमाका बारेमा अस्पतालहरुसँग कुरा भइरहेको बताए। उनले खेलाडीहरुलाई नेपाली सेना र नेपाल प्रहरीमा मात्रै जागिर दिइरहेको भन्दै अन्य क्षेत्रमा पनि जोड्ने गरी आवश्यक पहल गर्ने बताए।
-न्युज एजेन्सी नेपाल