यही वैशाख ११ गते भएको चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनमा महिलातर्फ मञ्जु रावतले उपाधि जितिन्।
कर्णाली स्पोर्ट्स क्लबले चार वर्षदेखि आयोजना गर्दै आएको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा महिलातर्फ यसपटक मञ्जुले नयाँ रेकर्ड पनि बनाइन्।
जुम्लाबाट रारासम्मको ४९ किलोमिटर दूरी उनले ६ घण्टा ६ मिनेट २३ सेकेन्डमा पूरा गरेकी थिइन्।
उनले एक लाख रुपैयाँ पुरस्कार पाइन्। जुम्ला–रारा अल्ट्रा म्याराथनको चौथो संस्करणको पुरूषतर्फ भने दलबहादुर कुँवर विजेता बने। उनले ४ घण्टा ५४ मिनेट १० सेकेन्डमा ४९ किलोमिटर दूरी पार गरेका थिए।
अल्ट्रा म्याराथनमा यस पटक ५१ जना प्रतिस्पर्धी थिए। महिलातर्फ मञ्जुसहित ११ जना थिए। जुम्लाको चन्दननाथ मन्दिरबाट सुरू भएको दौड मुगुको रारा ताल छेउको हुटुमा पुगेर पूरा भएको थियो।
उनी जुम्ला–रारा अल्ट्रा म्याराथन, २०७९ को तेस्रो संस्करण हुँदा सोही दूरीको दौडमा उनी तृतीय भएकी थिइन्। अचानक म्याराथनमा सहभागी भएकाले उनी आफू अघिल्लो संस्करणमा पछि परेको बताउँछिन्।
‘त्यो बेला मैले सात घण्टामा ४९ किलोमिटर दूरी पार गरेकी थिएँ। म नेपालगञ्ज नभएर जुम्लामै बसेकी हुन्थेँ भने तालिम नगरेर पनि विजेता हुन्थेँ हेला,’ उनले भनिन्, ‘नेपालगञ्जबाट एक्कासि आएर दौडिँदा मलाई हाई अल्टिच्युड सामना गर्न गाह्रो भयो।’
अल्ट्रा म्याराथनको तेस्रो संस्करण चैत २६ गते थियो। मञ्जु २३ गतेसम्म नेपालगञ्जमै थिइन्। त्यसै दिन जुम्लाका लागि गाडी चढेकी उनी २५ गते बेलुकामात्र पुगिन्।
पहाडी र हिमाली क्षेत्रमा बाटो पहिल्याउँदै दौडनुपर्ने अल्ट्रा म्याराथनका लागि पूर्वतयारी धेरै हुनुपर्छ। उनले त्यस्तो तयारी गरेकी थिइनन्। हाल मञ्जु २१ वर्षकी भइन्। देशका थुप्रै ठाउँमा भएका अल्ट्रा म्याराथनमा सहभागी भएकी छन्। ‘अल्ट्रा म्याराथन धावक’ का रूपमा आफ्नो पहिचान बनाएकी छन्।
२०७३ मा १३ वर्षको उमेरमा उनले विद्यालय स्तरीय दौड प्रतियोगितामा राष्ट्रिय रेकर्ड बनाएकी थिइन्।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–२, जिय गाउँकी मञ्जु विद्यालयको वार्षिकोत्सवमा हुने खेलकुद प्रतियोगितामा भाग लिन्थिन्। उनले ६ कक्षामा पढ्दा खेलकुदमा भाग लिन थालेकी हुन्।
पहिलोपटक २०७२ सालमा ‘राष्ट्रपति रनिङ शिल्ड’ का लागि विद्यालयबाट प्रथम भएर जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट भइन्। जिल्लाबाट क्षेत्रीय प्रतियोगितामा पनि पुगिन्।
क्षेत्रीय प्रतियोगिताको पाँच किलोमिटर दौडमा प्रथम र १५ सय मिटरमा दोस्रो भइन्। त्यही वर्ष पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा तेस्रो भइन्। त्यो समय उनी १२ वर्ष उमेरकी थिइन्।
दौडमा भाग लिन थालेको एक वर्षपछि २०७३ मा उनले राष्ट्रिय प्रतियोगितामा प्रथम भएर रेकर्ड कायम गरिन्।
‘नेपालगञ्जमा भएको विद्यालयस्तरीय क्षेत्रीय दौड प्रतियोगितामा प्रथम भएँ। त्यसबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएँ,’ उनले भनिन्, ‘राष्ट्रिय प्रतियोगितामा प्रथम भएर रेकर्ड बनाएँ।’
त्यसबेला पाँच वटा विकास क्षेत्रबाट पहिलो र दोस्रो भएकाहरू राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएका थिए। राष्ट्रिय प्रतियोगितामा प्रथम भएर मञ्जुले त्यो बेला एक लाख २० हजार रुपैयाँ पुरस्कार पाइन्।
विद्यालयस्तरीय प्रतियोगितामा सहभागी हुन थालेको दुई वर्षपछि उनले अल्ट्रा म्याराथन दौडिन सुरू गरिन्।
उनले भनिन्, ‘राष्ट्रिय प्रतियोगितापछि म अल्ट्रा म्याराथनमा सहभागी भएँ। अहिलेसम्म धेरै ठाउँमा पुगेर सहभागी भएकी छु।’
मञ्जु २०७७ को सुरूमा काठमाडौंको ठमेलबाट बतासेसम्मको ६० किलोमिटर अल्ट्रा म्याराथनमा प्रथम भइन्। यो दूरी ८ घण्टा ३० मिनेटमा पूरा गरेकी थिइन्।
उनी कोभिडको कहर र घरायसी कारणले दुई वर्ष खेलबाट गायब भइन्।
‘२०७७ र ७८ लकडाउन पनि भयो, केही घरायसी समस्या पनि थियो,’ मञ्जुले भनिन्, ‘दुई वर्ष खेल क्षेत्रबाट गायब भए पनि फेरि निरन्तरता दिएकी छु।’
उनलाई हङकङमा हुने अल्ट्रा म्याराथनमा भाग लिन पनि प्रस्ताव आएको थियो तर यतिबेला १८ वर्ष उमेर नपुगेकाले र राहदानी नभएकाले अवसर गुम्यो।
फेरि खेलमा सक्रिय भएपछि थुप्रै दौडमा जित हासिल गरेकी छन्। गत वर्ष आफू १० वटा प्रतियोगितामा सहभागी भएको मञ्जुले बताइन्।
गत वर्ष सुर्खेतमा नेपाली सेनाले आयोजना गरेको १० किलोमिटर दौडमा उनी प्रथम भएकी थिइन्। रूकुम पश्चिममा भएको ३४ किलोमिटर म्याराथनमा पनि प्रथम भइन्।
२०७९ मै रूकुमपूर्वमा आयोजित ६२ किलोमिटर र काठमाडौंमा आयोजित ५४ किलोमिटर अल्ट्रा म्याराथन तथा पोखरा र सिन्धुपाल्चोकमा भएका ४२ किलोमिटर म्याराथनमा पनि मञ्जु विजेता बनिन्।
रामेछापमा भएको ४६ किलोमिटर म्याराथनमा उनी दोस्रो भइन्। त्यसमा सुनमाया बुढा प्रथम भइन्। शैलुङमा भएको ५४ किलोमिटरमा पनि मञ्जु दोस्रो भइन्।
मञ्जु यही दौडकै क्षेत्रमा अघि बढ्न चाहन्छिन्। उनलाई परिवारको पनि राम्रो साथ छ।
‘मेरो चाहना निरन्तर यही क्षेत्रमा लाग्ने हो। भोलि खेल नै छोड्नुपर्ने अवस्था आइहाल्यो भने त के लाग्यो र,’ उनी भन्छिन्, ‘हाम्रो समाजले खेलकुदलाई बुझेको छैन। यसरी दौडेरमात्र कसरी खान पुग्ला र भन्छन्। तर मलाई उनीहरूको जस्तो फिक्री छैन आफ्नो लक्ष्यमा हिँड्न फरक पार्दैन।’
परिवारको कमजोर आयमा आफूले सहयोग गर्न नसके पनि हौसला पाइरहेको मञ्जुको भनाइ छ। आमाबुवाका ६ जना छोराछोरीमध्ये मञ्जु पाँचौं हुन्।
राज्यले खेल क्षेत्र र खेलाडीका लागि उचित लगानी गर्न नसकेको मञ्जुको ठहर छ।
‘विकसित राष्ट्रहरूले खेलकुद र खेलाडीबाट आफ्नो पहिचान बनाएका छन्। त्यहाँको समाजले खेल र खेलाडीलाई बुझेका छन्। लगानी पनि गरेका छन्,’ उनी भन्छिन्, ‘हाम्रो समाजले कहिले खेल बुझ्ला र राष्ट्रले कहिले खेलाडीहरूमा लगानी गर्ला, थाहा छैन।’
कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीका अनुसार सुनमाया, मञ्जु लगायतका अल्ट्रा म्याराथन धावक महिला पछिल्लो पुस्ताका सक्रिय खेलाडी हुन्। पछिल्लो पुस्तामा उनीहरू नै सिनियर पनि हुन्।
हाल महिला खेलाडीले परिवारबाट साथ र समर्थन पाउने गरेको पनि उनले बताए।
‘अल्ट्रा म्याराथनमा दौडिन तालिम र खानपिन राम्रो चाहिन्छ,’ उनले भने, ‘महिलाले दौडेर कसरी खान पुग्ला र भन्ने सोच परिवार र समाजमा थियो। अहिले परिवारले नै तालिमका लागि छोरीहरूलाई हाम्रो क्लबमा पठाउँछन्।’
उनले म्याराथनतर्फ मञ्जुको राम्रो सम्भावना रहेको पनि बताए।
दौडेरमात्र भविष्य सुरक्षित छैन भन्ने ठानेर कतिपय धावकहरू पलायन पनि भएका छन्।
शाही भन्छन्, ‘पहिलेदेखि नै हाम्रो क्षेत्र (कर्णाली प्रदेश) मा थुप्रै धावक हुनुहुन्छ। निरन्तरता दिन नसकेर उहाँहरूमध्ये धेरैजसो सुरक्षा संगठनमा जोडिनुभएको छ।’
४२ दशमलव १९५ किलोमिटरको दौड म्याराथन हो। यति दूरीभन्दा बढी भए अल्ट्रा म्याराथन भनिन्छ।