आइएमए निहोन कराते डो युएसएले एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३, २०२५ मा आयोजना गर्ने भएको छ।
यो च्याम्पियनसिप गत वर्षदेखि सुरु गरिएको हो।
"हामी यो घोषणा गर्न अत्यन्त खुसी छौं। एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप २०२५ नोभेम्बर २३, आइतबारका दिन आयोजना हुनेछ," संस्थाका संस्थापक, प्रमुख प्रशिक्षक तथा च्याम्पियनसिप निर्देशक सिहान शान्त थोकरले भने।
'यो हाम्रो दोस्रो प्रयास हो जसले क्वीन्स, न्यु योर्कमा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एकताबद्ध गर्नेछ। यो कार्यक्रमले अमेरिका र विदेशबाट विभिन्न उमेर र स्तरका कराते खेलाडीहरूलाई एकै ठाउँमा ल्याउनेछ,' उनको भनाइ छ।
च्याम्पियनसिप क्वीन्सको कोरोना क्षेत्रमा रहेको एल्मकोर सेन्टर, नर्दर्न बुलेभार्डमा हुनेछ। अघिल्लो दिन नोभेम्बर २२, शनिबार रेफ्री सेमिनार आयोजना गरिनेछ, जसमा विश्व कराते महासंघ (डब्लुकेएफ) का रेफ्री सेड्रिक बार्क्सडेलले प्रशिक्षण दिनेछन्।
"यो सेमिनारले रेफ्रीहरूको स्तर उकास्नेछ र प्रतिस्पर्धामा निष्पक्षता तथा व्यावसायिकता सुनिश्चित गर्नेछ," थोकरले भनेका छन्।
प्रतियोगितामा कुल ६६ क्याटगोरीहरूमा प्रतिस्पर्धा हुनेछ। १०–११ वर्षदेखि १८ वर्षमाथिका पुरुष र महिलाका लागि एड्भान्स काता र कुमिते डिभिजनमा २,००० अमेरिकी डलर नगद पुरस्कार राखिएको छ। यसबाहेक, ५ वर्षदेखि ४५+ वर्ष उमेर समूहका लागि काता र कुमितेमा प्रतिस्पर्धा गराइनेछ।
कुल ५२८ पदक वितरण गरिनेछ, जसमा १३२ स्वर्ण र रजत तथा २६४ कास्य पदक समावेश छन्।पूर्ण विवरण र दर्ताका लागि http://www.tournamentinabox.com मा जान सकिनेछ।
'हामी न्यु योर्क शहरमा यस्तो प्रतिष्ठित कार्यक्रम आयोजना गर्न गर्व गर्दछौं, जसले कराते खेलाडी, रेफ्री र परिवारहरूलाई अनुशासन, सम्मान र अन्तर्राष्ट्रिय मित्रताको उत्सवमा एकत्रित गर्नेछ,' निर्देशक थोकरले भने।
उनले अमेरिकी कराते समुदायको सहयोगमा यो च्याम्पियनसिपले ओलम्पिक करातेको भावनालाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरे।
आइएमए निहोन कराते डो युएसएले समुदायका सदस्य, व्यावसायिक व्यक्ति, खेलाडी, मिडिया तथा अन्यलाई प्रायोजन र समर्थनका लागि अपिल गरेको छ, जसले कार्यक्रमलाई भव्य सफल बनाउन मद्दत गर्नेछ।
संस्था कराते प्रवर्द्धनमा समर्पित छ र युवा सशक्तीकरण तथा सामुदायिक सम्बन्ध मजबुत बनाउन विभिन्न प्रतियोगिता, सेमिनार र प्रशिक्षण आयोजना गर्दछ। यो अमेरिकाको पहिलो नेपाली कराते स्कुल हो।