मध्यान्ह बरौजीस्थित रामप्रसाद गुरुङको घर सुनसान थियो।
सोमबार भरतपुर-माडी सडकको गीतानगरबाट करिब ३ किलोमिटर अघि बढेर मुख्य सडकबाट करिब एक सय मिटरभित्र रहेको उनको घर पुग्यौं।
मुख्य घरको नजिकै रहेको सानो घरबाट एक जना अधवैंशे पुरुष निस्किए।
रामप्रसाद गुरुङलाई खोजेको थाहा पाएपछि उनी एकछिन पर्खन आग्रह गर्दै बोलाउन गए। ती व्यक्तिले भेट्न मान्छे आएको जानकारी गराएपछि एक जना महिला घरबाट निस्किइन्।
'को हो तपाईंहरू?,' उनले सोधिन्।
'हामी पत्रकार हौं। रामप्रसाद सरलाई भेट्न आएका,' हामीले भन्यौं।
'पर्दैन, पर्दैन। पत्रकारले हैरानै बनाए,' उनले जवाफ फर्काइन्।
'के भयो र त्यस्तो?', हाम्रो जिज्ञासा थियो।
'के-के सोध्छन् पत्रकारले। लामो-लामो सोधेर हैरान बनाउँछन्। सोधेपछि जे बोल्यो त्यहीँ भनिदिए त हुन्थ्यो नि, नबोलेको, नबोलेको हाल्छन्। कोही आएर बारीमा खन्नु त फोटो खिच्छु भन्छन्, कोही आएर धान रोप्नु त भन्छन्। हामी त हैरानै भइसक्यौं,' उनले रामप्रसादको हैरानी सुनाइन्।
'होइन, त्यस्तो हुँदैन। तपाईंहरूले जे बल्नुहुन्छ त्यहीँ आउने हो, नबोलेको कुरा त हाल्दै हाल्दैनौं नि,' हामीले उनलाई विश्वस्त पार्न खोज्यौं।
त्यसपछि टि-सर्ट, हाफ पाइन्टसँग गगल्स र क्याप भिरेका एक व्यक्ति ‘को हुनुहुन्छ तपाईंहरू’ भन्दै बाहिर निस्किए।
उनी नै थिए रामप्रसाद गुरुङ। जो ओलम्पिक खेलमा नेपालले पहिलो पटक सहभागिता जनाउँदाका एक बक्सर हुन्।
सन् १९६४ मा जापान टोकियोमा भएको ओलम्पिकमा नेपाली ६ खेलाडीले सहभागिता जनाएका थिए। उनीहरूमध्येका एक गुरुङ चितवनको बरौजीमा बस्छन्। जापानको टोकियोमा अहिले ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेल चलिरहेको छ।
पत्रकारका विषयमा धेरै गुनासो गरेकी श्रीमती लक्ष्मीको स्वीकृतिपछि रामप्रसाद हामीसँग छोटो कुरा गर्न तयार भए। भने, ‘म अर्को कपडा लगाएर आउँछु है।’
केहीबेरमा उनी सर्ट पाइन्टमा सजिएर बाहिर निस्किए।
कुराको सुरूआत सन् १९४५ बाट भयो। त्यो साल उनी तत्कालीन भारतको अबोटावाद (हाल पाकिस्तानमा पर्छ)मा जन्मिएका थिए। उनका बाबु हिरालाल गुरुङ भारतीय सेनामा कार्यरत थिए।
भारतीय सेनाको क्याप्टेन भएर अवकास पाएका रामप्रसादको रूची सेनातिरै थियो।
उनी १४ वर्षकै उमेरमा बेलायती सेनामा भर्ती भए। उनी पक्लिहवामा भएको प्रतिष्पर्धाबाट बेलायती सेनाको ‘ब्वाइज कम्पनी’का लागि छनोट भएका थिए। सन् १९५९ मा उनी मलायको सुंगे पटानीस्थित ब्रिगेड अफ गोर्खाजको ब्वाइज कम्पनी ब्यारेकमा पुगे। ब्वाइज कम्पनीमा तालिम, अध्ययनसँगै अनिवार्य खेल्नुपर्छ।
लगातार ४ वर्ष काम गरेपछि बल्ल उनले घर बिदा पाए। त्यतिखेर उनी ब्वाइज कम्पनीबाट हङकङको पल्टनमा काम गर्न थालिसकेका थिए। सन् १९६४ मा घर बिदामा चितवन आएका रामप्रसाद घरकै काममा रमाउँदै थिए।
‘बिदामा बसेको एक महिना जति हुँदा एकदिन म ट्याक्टर चलाएर खेत जोतिरहेको थिएँ पल्टनबाट तुरून्तै फर्कनुपर्यो भन्ने खबर आयो,’ रामप्रसादले सम्झिए, ‘लगातार ४ वर्ष काम गरेर बिदामा आएको छु। एक महिनामै तुरुन्तै फर्कनुपर्यो भनेको सुन्दा मलाई त रिसै उठ्यो, जान्न भन्ने पनि सोचें।’
उनी गुनासो गर्न काठमाडौंस्थित कार्यालय पुगे। त्यहाँ पनि रामप्रसादलाई तुरून्त पल्टनमा पठाऊ भन्ने आदेश थियो। तर कारण कसैलाई थाहा थिएन। बाध्य भएर उनी हङकङ उडे। पल्टन पुगेर कोठामा सामानहरू राखे। त्यहाँ उनका लागि आवश्यक पर्ने राजकुमुटको चिन्हसहितको कपडा सिलाउने तयारी हुँदै थियो।
‘साथीहरूले मेरो स्वागत गर्न थाले, बल्ल थाहा भयो मलाई जापानमा हुन लागेको ओलम्पिकमा नेपालको तर्फबाट प्रतिष्पर्धी बनाउन लागिएको रहेछ,’ उनले सुनाए, ‘मसहित चार जना बक्सिङ खेलमा प्रतिष्पर्धा गर्न जापान जाने भयौं।’
२४ घन्टामा सबै तयारी सकेपछि उनीसँगै ब्वाइज कम्पनीमा भर्ती भएका नामसिंह थापा र बेलायती सेनाकै रिक्रुट समूहका भीमबहादुर गुरुङ र ओमबहादुर पुन सैनिक सामग्री बोक्ने जहाज ‘हर्क्युलिस’ चढेर जापानको ओकिनवा पुगे। उनीहरूलाई ओकिनवामा रहेको अमेरिकी सेनाको ब्यारेकमा लगियो।
‘त्यहाँ अमेरिकाबाट ओलम्पिकमा सहभागी हुने खेलाडीहरू तयारी गर्दै थिए, एक हप्ता जति हामी त्यहीँ बसेर खेलको तयारी गर्यौं,’ रामप्रसादले भने।
उनीहरू त्यही जहाज चढेर टोकियो पुगे। टोकियो भिलेजमा नेपाली ओलम्पियनका लागि भनेर एउटा घर छुट्टाइएको थियो। त्यो घरमा उनीहरू ४ जना, ओलम्पिकमा सहभागी हुन नेपालबाटै गएका २ जना म्याराथन दौडका खेलाडी र कोच बसे।
'नेपाली झण्डा फरफराउँदा हृदय खुसी भयो'
ओलम्पिकको बारेमा सामान्य कुरामात्रै सुनेका रामप्रसाद अन्ततः खेलाडीकै रूपमा ओलम्पिकमा सहभागी भए।
उद्घाटनको दिन सबै देशका झण्डाहरू फरफराउन थाले। नेपालका तर्फबाट नामसिंह थापाले झण्डा समाते। रामप्रसादसहितका खेलाडी झण्डासँग पछि लागे।
‘सबै झण्डामध्ये नेपालको झण्डा बिल्कुलै नौलो र सुन्दर थियो, त्यो देख्दा मेरो हृदय यति खुसी भयो कि म अहिले पनि सम्झिरहेको छु,’ रामप्रसादले सम्झिए, ‘आफ्नो राष्ट्रको झण्डा संसारका मान्छेको अगाडि फरफराउन पाउँदा खुसीको सीमा थिएन।’
खेल सुरू भयो। 'लाइटवेट' समूहमा भिडेका रामप्रसादको भिडन्त हंगेरीका खेलाडीसँग भयो। तर उनले जित्न सकेनन्।
नेपालका तर्फबाट सहभागीमध्ये ओमप्रसाद पुनले पहिलो प्रतिष्पर्धा जितेका थिए। दोश्रो प्रतिष्पर्धामा उनी पराजित भए। म्याराथनमा सहभागी गङ्गाबहादुर थापा र भूपेन्द्र सिलवालले पनि दौड पूरा गर्न सकेनन्।
‘हामी ओलम्पिकमा सहभागी त भयौं तर हामीले जापानमा देखेजस्तो खेल सामग्रीहरू त्यसअघि कहिल्यै देखेका थिएनौं,’ उनले भने, ‘त्यहाँ प्रतिष्पर्धा गर्दा खेल सिक्दै गरेको जस्तो अनुभूति भयो।’
त्यसअघि उनले मलाय, हङकङ, सिंगापुरमा बक्सिङका धेरै प्रतिष्पर्धा जितेका थिए। ती ठाउँका अन्य खेलाडीहरू आफूसहितका नेपालीहरूलाई गोर्खाली भनेर डराउने गरेको उनी बताउँछन्।
रामप्रसादसहितका चार खेलाडीको त्यही क्षमताको बारेमा हङकङस्थित उनको पल्टनका मेजर जे एसकिङले नेपालमा जानकारी गराएका थिए। त्यसैको आधारमा ओलम्पिकमा पहिलो पटक सहभागी हुने नेपाली खेलाडीको सूचीमा रामप्रसादको नाम पनि परेको थियो।
‘हामीले जति पनि खेल खेलेका थियौं, त्यसका लागि बालुवाको बोरामा हानेर सिक्ने गरेका थियौं तर जापान पुगेपछि थाहा भयो बक्सिङ खेल्नका लागि त यसबाहेक धेरै कुराहरू जान्नुपर्ने रहेछ,’ उनले भने, ‘जित्न नसके पनि धेरै कुरा सिक्ने अवसर मिल्यो।’
सन् १९६४ को ओलम्पिकमा सहभागी भएर फर्किएपछि रामप्रसादले बक्सिङ, जुडो, फुटबललगायतका धेरै खेल खेले तर दोस्रो पटक ओलम्पिकमा सहभागी भएनन्।
‘आर्मीमा गएको मान्छे ध्यान त्यतै पुर्याउनुपर्छ भन्ने भयो, फेरि ओलम्पिकमा जान पाए जितिन्थ्यो कि भन्ने तिर लागिएन,’ उनले भने।
ब्वाइज कम्पनीको च्याम्पियन रामप्रसाद
खेल रामप्रसाद गुरूङको रुचीको विषय थियो। भर्ती भएर मलायको ब्वाइज कम्पनीमा पुगेलगत्तै उनले आफ्नो कौशल देखाउन थालेका थिए।
‘पल्टनको मेसमा खाना खान लाग्दा भित्ता टाँसिएको च्याम्पियनको नाम देख्दा मलाई यो ठाउँमा जसरी पनि आफ्नो नाम लेखाउँछु भन्ने लागिसकेको थियो,’ उनले भने, ‘त्यहीअनुसार धेरै मेहनत गरें। अन्ततः त्यो ठाउँमा आफ्नो नाम लेखाएरै छाडे।’
तालिम, खेलकुदलगायतका गतिविधि र पढाइमा उत्कृष्ट हुनेको नाम ‘ब्वाइज च्याम्पियन’ भनेर भित्तामा लेखिने गरेको थियो। ब्वाइज कम्पनीमा पुगेको एक सालपछि त्यो ठाउँमा नाम लेखाउन सफल भएको उनी बताउँछन्।
खेलाडीलाई हौसला चाहिन्छ
७६ वर्षीय रामप्रसाद खेलाडीका लागि सबैभन्दा ठूलो कुरा हौसला भएको बताउँछन्। खेल्नका लागि मैदानमा गएपछि हार, जीत जे पनि हुन सक्ने उल्लेख गर्दै उनी भन्छन्, ‘हार्दैमा खेलाडी निरास हुनु हुँदैन। उनीहरूलाई निरास हुन नदिन हामीले हौसला दिनुपर्छ।’
देशबाट छनोट भएर गएपछि देशको झण्डा सम्झिएर जित्ने प्रयास गर्नुपर्ने उनी बताउँछन्।
‘तर हारें भनेर मन सानो गर्न हुन्न, निरन्तरता दिनुपर्छ। एक दिन अवश्य सफल भइन्छ,’ ओलम्पियन रामप्रसाद भन्छन्, ‘आत्मविश्वास हार्न भएन। खेल जित्दा नेपालको झण्डा सररर माथि गएको देख्दा कति आनन्द लाग्छ, आहा!’
उनले आफू सहभागी नभए पनि सन् १९६४ यताका धेरै ओलम्पिकका खबरहरू पढे, सुनेका छन्। नेपाली खेलाडीका खेलबारे पनि धेरै कुरा सुनेका छन्।
‘हाम्रो अवस्था अहिले पनि त्यही हो, खेलका लागि आवश्यक संरचना, सामग्री हामीसँग हुँदैन। आधुनिक सामग्रीमा तयारी गरेका खोलाडीसँग प्रतिष्पर्धा गर्नुपर्छ,’ उनी भन्छन्।
पहिले दौडन्थे, अचेल योग गर्छन्
रामप्रसाद गुरुङ सन् १९९० को जनवरीमा बेलायती सेनाबाट सेवा निवृत्त भएका थिए। त्यतिखेर उनको पद क्याप्टेन थियो। निवृत्त भएपछि उनी नेपाल आएर ६ महिना बसे। पछि उनलाई ब्रुनाई सरकारले सञ्चार योजना विज्ञका रूपमा आमन्त्रण गर्यो। उनले ब्रुनाई बसेर केही वर्ष काम गरे।
उनको चितवनको बरौजीमा घरसँगै ८ विघा जमिन छ। त्यहाँ धान, मकै उत्पादन हुन्छ। घर नजिकै रहेको गोठमा आधा दर्जन गाई छन्। खेत र गाईको स्याहारका लागि केही व्यक्तिहरू खटिएका छन्। उनको बसोबास काठमाडौंमा पनि छ।
‘चैतमा चितवन आएका थियौं, कोरोना महामारी फेरि सुरू भयो। निषेधाज्ञा भएपछि यतै रोकियौं,’ श्रीमती लक्ष्मी गुरुङले भनिन्, ‘अहिले घरमै बसेर आराम गर्ने काम भइरहेको छ।’
केही वर्ष अघिसम्म दैनिक २-३ घन्टा दौडिने रामप्रसाद अचेल योगमात्रै गर्छन्। दैनिक ४५ मिनेट योग गर्ने गरेको उनले बताए।
‘अचेल त हिँड्न पनि गाह्रो छ, घुँडा दुख्ने भएको छ,’ उनले भने।
सँगै ओलम्पिकमा सहभागी भएका नामसिंह थापासँग उनको बेला-बेलामा कुराकानी हुन्छ।
‘नामसिंह केही समय अघिसम्म बुटवलमा थिए, अहिले हङकङ छन्। ओम बिते, भीम भारतको भोपाल छन् रे भन्ने सुनेको छु,’ उनले सुनाए।
गुरूङका ५ छोरी र एक छोरा छन्। उनीहरु सबै विदेश छन्।