बिहान झिसमिसे उज्यालोमै तुलसीपुरको अरनिको मैदान भरिभराउ हुन्छ। स-साना केटाकेटी र किशोरकिशोरी यहाँ खुला आकाशमुनिको धुलाम्मे जमिनमा उफ्रिन्छन्। दौडिन्छन्। हावामा किक हान्छन्।
एक सय जति केटाकेटीले यहाँ सितोरियो कराते अभ्यास गर्छन्। तेक्वान्दो खेल्ने ५०/६० जना हाराहारी किशोरकिशोरी हा-हु गर्छन्। करातेका स्वयंसेवक प्रशिक्षक पदमबहादुर बस्नेत र तेक्वान्दोका प्रशिक्षकहरू उनीहरूलाई खेल र अध्यासका तकनिक सिकाउँछन्।
तुलसीपुर बजारको मध्यभागमा अवस्थित यो एक मात्रै सार्वजनिक खेल मैदान हो। वर्षामा हिलाम्मे हुन्छ, चिप्लो रातोमाटोमा अभ्यास गर्न सम्भव हुँदैन।
करातेका प्रशिक्षक पदमबहादुर बस्नेतका अनुसार तेक्वान्दो सिक्नेहरूले पैसा तिर्नुपर्दैन। तेक्वान्दो प्रशिक्षकलाई सरकारबाटै तलब आउँछ। तर कराते प्रशिक्षकलाई केही नआउने भएकाले कराते सिक्न-खेल्न चाहनेले मासिक दुई सय रूपैयाँ शुल्क तिर्नुपर्छ।
झन्डै २५ वर्षदेखि करातेमा रमाइरहेका बस्नेत हाल 'पाँचौं डान' हुन्। आफ्नो अभ्यासका लागि पनि नियमित खेल खेलाइरहेको उनी बताउँछन्।
विगत १५ वर्षदेखि अरनिको मैदानमा कराते प्रशिक्षण गराउँदै आएका बस्नेतले भने, 'हालसम्म कतैबाट सहयोग आएको छैन। खेलाडीहरू ग्लोभ्स नभएकाले खाली हात अभ्यास गर्छन्। कहिलेकाहीँ बच्चाहरूबाट २०-५० रूपैयाँ उठाएर ग्लोभ्स, प्याड किन्छौं। तर धेरै दिन टिक्दैन च्यातिहाल्छ।'
खेलाडीले पनि सुरूआती अभ्यास त गर्छन् तर ग्रेडिङ गर्न आवश्यक शुल्क बुझाउन सक्दैनन्। वर्षमा दुई तीन जनाले ग्रेडिङ गर्छन्। त्यो केन्द्रीय संघले तोकेअनुरूप शुल्क बुझाएर गरिन्छ।
'ब्ल्याक बेल्टको ग्रेडिङ केन्द्रमै हुन्छ। अन्य बेल्टका लागि मैले शुल्क उठाएर ग्रेडिङ गर्ने गरेको छैन,' बस्नेतले भने।
बस्नेतका अनुसार मासिक शुल्क तोकिए पनि खास कसैले बुझाउँदैनन्। शुल्क माग्न उनी ताकेता पनि गर्दैनन्। दुई-चार खेलाडीले स्वेच्छिक रूपमा बुझाउँछन्।
खेल्न आउनेमध्ये केटाको संख्या धेरै छ। यसमा पनि अलि विपन्न दलित र जनजाति परिवारका धेरै भएको उनले जानकारी दिए। सरकारी विद्यालयमा पढ्ने केटाकेटीलाई गृहकार्यको चाप कम हुँदा खेलका लागि समय हुने र खेलमार्फत् भोलि आर्मी-पुसिलतिर जान सकिन्छ कि भनेर आउने बस्नेतको बुझाइ छ।
'धनी र सुखसयलमा हुर्केका परिवारका सन्तान यसरी गेम खेल्न आउँदैनन्,' प्रशिक्षक बस्नेतले भने, 'यहाँ आउने गरिबका छोराछोरी हुन्। उनीहरूसँग पैसा हुँदैन। त्यसैले म माग्दिनँ।'
खेलमा टिकिरहनेको संख्या पनि एकदमै थोरै छ। यसका कारण धेरै छन्, प्रतियोगिता, खेलकुद सम्बन्धी गतिविधि र कार्यक्रम नहुनु मुख्य हुन्। राज्यले यस्ता खेलकुदलाई नजरअन्दाज गरेको बस्नेतको भनाइ छ। व्यक्तिगत रूपमा खेलाडी लगनशील भएर स्तर राम्रो कायम गरे पनि सीप प्रदर्शन गर्ने ठाउँ नपाएपछि निराश हुन्छन्। अनि खेलप्रतिको रूचि मर्दै जान्छ।
'राज्यले केही लगानी नगर्ने र सबै राम्रा खेलाडी पलायन हुने अवस्था कायमै छ। यही ताल हो भने जिल्ला तहमा खेलकुद धरासायी बन्ने चिन्ता छ,' उनले भने।
सरकारले सितोरियो करातेमा स्थायी प्रशिक्षकका लागि विज्ञापन आह्वान नगरेको बर्षौं भइसक्यो। २०५२ सालदेखि अहिलेसम्म आवेदन नखोल्दा राम्रा खेलाडी अरू क्षेत्रमा पलायन हुन बाध्य भएको प्रशिक्षक बस्नेतले बताए।
'निरोगी हुन र देशमा प्रतिभाहरू जन्माउन खेलकुद आवश्यक छ,' बस्नेतले भने 'तर, खेलकुदलाई राज्यले प्रोत्साहान गरेको देखिएन। त्यसैले खेलाडी निराश छन्।'
उनी आफैंले खेलेको २५ वर्ष बिते पनि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेल्न जाने अवसर पाएका छैनन्।
व्यक्तिगत विधाका खेलमा जति प्रतिस्पर्धा भयो, जति टुनार्मेन्ट भयो, त्यति नै खेलाडी स्तरीय निस्किन्छन्। पटक-पटक टुर्नामेन्ट भइराख्ने हो भने खेलाडीको हौसला बढ्दै जान्छ, स्तर उकासिँदै जान्छ।
'तर हामीकहाँ वर्ष दिनमा एउटा म्याच पनि खेल्न पाउँदैनन्। अनि कसरी बढ्छ स्तर,' उनी भन्छन्, 'एकाध खेल पनि राजनीतिक पार्टी वा व्यक्तिका नाममा मात्रै हुन्छन्। त्यस्ता खेल जहाँ हुन्छन् त्यहीँ सकिन्छन्। खेलाडी बाहिर निस्किने अवसर पाउँदैनन्। प्रदेश तथा राष्ट्रियबाट अन्तर्राष्ट्रिय म्याच हुँदैन। जहाँ म्याच भयो त्यहीँबाट खेलाडीले एउटा मेडल ल्याएर घरमा राख्नुबाहेक केही उपलब्धि हुँदैन।'
त्यसको खोजीनीति सरकार र संघसंस्थाले समेत गर्दैनन्। यहीकारण खेल क्षेत्रप्रति खेलाडीको आकर्षण बढ्न नसकेको बस्नेतको बुझाइ छ। त्यस्तै प्रशिक्षकलाई 'रिफ्रेसमेन्ट'का लागि तालिम दिने निकाय निदाएझैं अवस्थामा भएकाले प्रशिक्षकको क्षमता पनि बढ्न नसकेको उनले बताए। हरेक तहमा पटकपटक प्रशिक्षकका लागि तालिम भए त्यसले अगाडि बढ्न मद्दत गर्ने उनी बताउँछन्।
कतिपयले तालिम नै नगरेका प्रशिक्षकलाई तलब खुवाइरहेको पनि उनले बताए। स्वयंसेवक प्रशिक्षकले नसिकाउने हो भने जिल्ला-जिल्लामा करातेका गतिविधि समाप्त नै हुने अवस्थामा पुगेको बस्नेतले दाबी गरे।