दाङको लमही क्रिकेट मैदानमा ब्याट समातेर १३ वर्षीया जोस्निका मरासिनी उत्रिरहँदा धेरैले आश्चर्य माने। कारण- ब्याटभन्दा उनको उचाइ केही गुणा मात्रै बढी थियो।
फेरि त्यो म्याच केटाकेटीले रमाइलोका लागि मात्रै खेलिरहेका थिएनन्। त्यहाँ त अनुभवी खेलाडी मैदानमा थिए।
दाङमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता आफ्नो पोल्टामा पार्न ठूलो प्रतिस्पर्धा चलिरहेको छ। मुलुकका सातै प्रदेश र एउटा विभागीय टिम उपाधि जित्न प्रतिस्पर्धा गरिरहेका छन्।
प्रथम हुने टिमले पाँच लाख पुरस्कार जित्छ। उपविजेताले तीन लाख, सेमिफाइनलबाट बाहिरिने दुई टोलीले समान २५ हजार, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले दस हजार र उत्कृष्ट बलरले पाँच हजार पुरस्कार प्राप्त गर्ने घोषणा गरिएको छ।
आफूलाई स्थापित गर्न र पुरस्कार जित्ने प्रयत्नले कडा प्रतिस्पर्धा हुनु स्वाभाविक हो।
यस्तो राष्ट्रिय प्रतिस्पर्धामा स्याङजाकी १३ वर्षीया जोस्निकालाई गण्डकी प्रदेशले मैदानमा उतारेको हो।
दर्शकदीर्घामा बसेका कतिले ती बालिकfलाई मैदानबाट बाहिर निकाल्न आग्रह पनि गरे।
मैदानमा खेल्न थालेपछि बल्ल उनी पनि राष्ट्रिय टिमका लागि छनोट भएर आएकी खेलाडी रहिछन् भन्ने कुरा चाल पाए। उनी नै प्रतियोगितामा सबैभन्दा सानो उमेरकी खेलाडी थिइन्।
उनले घरमै बसेर नियमित क्रिकेट खेल्न थालेको एक वर्षजति मात्रै भएको छ। जोस्निकाले आफ्नो ठाउँमा मेयर कपहरू खेलेकी थिइन्। उनी अलराउण्डर खेलाडी हुन्।
‘स्याङजाकै क्रिकेट खेलाडी सिमाना भन्ने दिदी हुनुहुन्छ, म उहाँलाई देखेर क्रिकेटमा प्रभावित भएकी हुँ। उहाँको खेल हेर्दाहेर्दै मैले खेल्न सिकेँ,’ जोस्निकाले भनिन्।
जिल्लाकै दिवाकर थापाले उनलाई सुरूमा ट्यालेन्टका आधारमा छनोट गरे। मेयरकप, गर्ल्स सुपर सिक्स हुँदै जोस्निना जिल्लाको छनोटमा पनि परिन्। जिल्लाबाट सेलेक्ट भएपछि उनी पोखरा गइन्। त्यहाँ पनि सेलेक्ट भएपछि उनी राष्ट्रिय टिममा पर्न सफल भइन्।
प्रतियोगितामा जो कोही खेलाडी उत्साहित र ‘नर्भस’ हुनु सामान्य हो।
जोस्निकामा पनि पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्दाको त्यस्तै अनुभव छ। ‘म थोरै नर्भस पनि भएँ,’ उनले भनिन्, ‘राष्ट्रिय प्रतियोगिता गाह्रो त भइहाल्छ। तर, मैले अनुभव बटुल्ने अवसर पाएँ।’
उनले आफूले खेलमा रमाइरहेको र अरुले पनि साथ दिएको प्रतिक्रिया दिइन्।
उनले आफूले मैदानमा टिमका लागि शतप्रतिशत प्रयास गरेको बताइन्।
देशभरबाट प्रतियोगितामा सहभागी खेलाडीहरूले जोस्निकालाई हौसला भरिदिएका छन्।
‘दिदीहरूले मलाई यति सानो उमेरमा राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु ठूलो कुरा हो भनेर हौसला दिनुभयो,’ उनले भनिन्, ‘भविष्यमा अझै यसलाई मेहनत गर भन्नुभएको छ।’
जोस्निकाका अनुसार कोचले पनि उनलाई सिकाउने क्रममा विशेष ध्यान दिन्छन्। नआत्तिएर, ढुक्क भएर खेल्न हौसला दिन्छन्।
बुवा दीपक र आमा विद्याकी कान्छी छोरी जोस्निकाका दाजु र दिदी पनि छन्। घर परिवारका सदस्य सबैले उनलाई खेल्न हौसला दिँदै आएका छन्।
उनी स्याङ्जाकै रोषणी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्यनरत् छिन। कक्षामा उनी द्वितीय र तृतीय हुन्छिन्। ‘म पढाइसँगै खेललाई पनि निरन्तर अगाडि बढाउँछु,’ उनले भनिन्, ‘हरेक मान्छेसँग कुनै न कुनै ट्यालेन्ट हुन्छ, त्यसमै फोकस भएर अगाडि बढे सफलता प्राप्त हुन्छ।’
२२ यार्डको पिचमा नानीले बल पुर्याउलिन् जस्तो लागेको थिएन: कोच प्रधान
कोच गोविन्द प्रधानले उमेर अनुसार जोस्निकाले उत्कृष्ट प्रर्दशन गरेको सेतोपाटीलाई प्रतिक्रिया दिए।
‘सुरूमा मैले देख्दा त्यो २२ यार्डको पिचमा नानीको बल पुग्छजस्तो मलाई लागेको थिएन,’ प्रधानले भने ‘तर, नानीले मजाले बल पुर्याउन सकिन्।’
उनले आफ्नै टिममा पनि कतिपय अलि खेलाडीले समेत २२ यार्डको पिचमा बल पुर्याउन नसक्ने गरेको हुँदा आफूले त्यस्तो सोचेको बताए।
जोस्निकाले अन्तिम खेलमा फिल्डिङमा गरेको इफोर्ट देख्दा आफू प्रभावित बनेको र अन्य खेलाडीहरूलाई जोत्सिनाको इफोर्ट क्याच गर्न आग्रह गरेको प्रधानले बताए।
कोच प्रधानले जोस्निकालाई पहिलेदेखि हेरेका भने होइनन्। राष्ट्रिय टिममा परेपछि मात्रै आफूले उनलाई केही कुरा सिकाउन पाएको उनले बताए।
‘बच्चा नि सानो छ, जम्मा १२-१३ वर्षको। यो त राष्ट्रिय गेम खेल्ने एज नै हैन भन्दा पनि हुन्छ,’ प्रधानले भने ‘तैपनि उनले जति खेलिन्, राम्रो खेलिन्। अबको एक दुई वर्षमा निरन्तर ट्रेनिङ पाए उनी धेरै राम्रो खेलाडी बन्न सक्छिन्।’
टिम म्यानेजर अर्जुन थापाले पनि राष्ट्रिय प्रतियोगितामा जोस्निकाले उच्च मनोबलका साथ खेलेर सबैलाई चकित पारिदिएको प्रतिक्रिया दिए। ‘नयाँ आएका अरु बहिनीहरूभन्दा उनले कन्फिडेन्टका साथ खेलिन्,’ उनले भने, ‘बल ग्यादर गर्न, क्याचिङमा र फिल्डिङमा परफेक्ट प्रदर्शन गरिन्।’
थापाले पनि राम्रो कोच पाएमा र नियमित अभ्यास गरेमा भविष्यमा जोस्निका अब्बल खेलाडी बन्ने लख काटे।
तर, गण्डकी प्रदेशको टिम तीनवटै म्याच हारेपछि शुक्रबार नै फर्किसकेको छ।
गण्डकीले पहिलो म्याच सुदूरपश्चिमसँग ५९ रन, बागमती प्रदेशसँग ६५ रन र प्रदेश १ सँग १४० रनले हारेको थियो।