सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जितबिहीन टोलीको भिडन्तमा पोखरा एभेन्जर्सले सुमित बर्माको अर्धशतक जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ६ विकेटको क्षतिमा १५५ रन बनायो।
पोखराका लागि ओपनरद्वय दिनेश खरेलले ३८ रन र एडम रोसिङटनले २४ रन बनाए। रोसिङटन आठौं ओभरको तेस्रो बलमा जनकपुरका सन्जय कृष्णमूर्तिको बलमा क्याच भए। उनले खरेलसँग ६१ रनको साझेदारी गरे। लगत्तै अर्को बलमा पोखरा कप्तान कुशल गोल्डन डक भए। उनलाई कृष्णमूतिले बोल्ड गरे।
दशौं ओभरमा खरेललाई पोखारका कप्तान अनिल साहले क्याच गराएका थिए।
अर्को ओभरमा जिमी निशम पनि १ रनमै आउट हुँदा पोखरा दबाबमा पर्यो। निशमलाई पनि कृष्णमूर्तिले सिकार बनाएका थिए।
त्यसपछि सुमित बर्मा र तृतराज दासबीच पाँचौ विकेटक लागि ७२ रनको साझेदारी भयो। दास १९औं ओभरमा २९ रनमा रनआउट हुन पुगेका थिए। उनले २८ बलमा २ चौका प्रहार गरे।
अन्तिम ओभरमा डान डाउथवेटलाई ललित राजवंशीले ७ रनमा क्याच गराए। पहिलो बलमा छक्का प्रहार गरे लगत्तै डान क्याच भएका थिए।
तर अन्त्यमा सुमित बर्माले अर्धशतक प्रहार गरेपछि पोखरालाई राहत भयो। बर्माले नटआउट ५० रन बनाउने क्रममा २९ बलमा २ चौका र ४ छक्का प्रहार गरे। भारतमा जन्मिएर त्यहिँ क्रिकेट सिकेका बर्मा अहिले युगान्डाको राष्ट्रिय टोलीबाट खेल्छन्।
अन्तिम ओभरमा ललित राजवंशीले १७ रन खर्चिदा पोखराले १५० रन कटाएको थियो।
बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले ३ विकेट लिए भने ललित राजवंशी र अनिल साहले १-१ विकेट लिन सफल भए।