दसौं राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो।
बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई ३ महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने निर्णय भएको छ। दुई वर्षदेखि निष्क्रिय रहेका खेल संघहरूले आगामी तीन महिनाभित्र गतिविधि सञ्चालन नगरे निलम्बन गरिने पनि बोर्डको निर्णय छ।
राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ।
सबै खेल संघहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरिएको छ, साथै संघहरूले आफ्ना बोर्ड बैठकहरू प्रत्यक्ष (लाइभ) रूपमा सञ्चालन गर्नुपर्नेछ।
त्यसैगरी वीरगञ्जस्थित नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यले पूर्व क्रिकेट खेलाडी हसिम अन्सारी सहितको कार्यदल गठन गरिएको छ।
विभिन्न संघका पदाधिकारीहरुले गर्ने बिदेश भ्रमणहरुको युवा तथा खेलकुद मन्त्रालयलाई अनिवार्य रुपमा जानकारी गराउनु पर्ने पनि निर्णय भएको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो।