१९औं संस्करणको एसियाली खेलकुद असोज ६ देखि चीनको हाङझाउ शहरमा सुरू हुँदैछ। एसियाली देशहरूको खेलकुदको कुम्भमेला एसियाली खेलकुदमा ४० खेलमा ४५ देशका खेलाडीले भाग लिँदैछन्। यसपटकको एसियाली खेलकुदमा १२ हजार बढी खेलाडी सहभागी हुने छन्। पेरिसमा हुने ओलम्पिक २०२४, टोकियोमा भएको ओलम्पिक २०२० मा पनि यति खेलाडीले प्रतिस्पर्धा गरेका थिएनन्।
ओलम्पिकपछिको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मानिने एसियाली खेलकुदमा नेपालले यसपटक २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। २९ खेलमा नेपालका २५३ खेलाडीले भाग लिँदैछन्। एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको नेपालले पछिल्ला तीन संस्करणमा एक-एक पदकमात्र जित्न सकेको छ।
हाङझाउ एसियाली खेलकुदमा नेपालको सहभागिता र पदकको सम्भावनाबारे सेतोपाटीले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङसँग कुराकानी गरेको छ। उक्त कुराकानीको सम्पादित अंश:
१९औं एसियाली खेलकुदको तयारी कस्तो भइरहेको छ?
हाम्रो तयारी सम्पन्न भइसकेको छ। अहिलेसम्म एसियाली खेलकुदका लागि गरेको तयारी अब मैदानमा प्रस्तुत गर्न तयार छौं। २९ खेलमा भाग लिँदैछौं। त्यसमा २५३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पछिल्लो पटक इस्पोर्ट्सका कारणले खेलाडीको संख्या बढेको छ। इस्पोर्ट्समा छनोट खेलेपछि संख्या निर्धारण हुने भएकाले खेलाडी थपिएका हुन्। पाँच जनाको अनुमान गरेकोमा छनोट पार गरेर इस्पोट्सका २३ खेलाडीले एसियाली खेलकुदमा सहभागिता जनाउँदै छन्।
ओलम्पिकपछि एसियाली खेलकुद विश्वकै ठूलो खेलकुद प्रतियोगिता हो। ओलम्पिकमा एसियाबाट पदक जित्ने खेलाडीको संख्या पनि बढी नै छ। चीन, जापान, दक्षिण कोरियाजस्ता विश्व खेलकुदमा उत्कृष्ट खेल्ने खेलाडीसँग पनि नेपाली खेलाडीले एसियाली खेलकुदमा भिड्न पर्छ। यस्तो अवस्थामा हामीले ती खेलाडीसँग प्रतिस्पर्धा गर्न कस्तो प्रशिक्षण गर्यौं?
हामीले नेपाली खेलकुदको जग कस्तो बसाल्यौं भनेर हेर्नु पर्छ। हिजो हाम्रो खेलकुदको मुहान कस्तो थियो भन्ने विचार गर्नुपर्छ। त्यही जगबाट आएका खेलाडीले अहिले खेल्ने हो।
एक-दुई वर्षमा एसियाली खेलकुदका लागि राष्ट्रिय टिमले तयारी गर्न सक्ने विषय होइन।
हामीले ती खेलाडीको जीवनमा फर्केर हेर्ने हो भने कसैले १० वर्ष, कसैले १२ वर्ष खेलेका छन्। लामो समय खेल जीवनमा अभ्यस्त भएर आएका खेलाडी राष्ट्रिय टिममा परेर यस्ता अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिने परम्परा छ।
म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनेर आएपछि डेढ महिनाको बीचमै एसियाली खेलकुदको टिम तयारीको लागि काम थालेका थियौं। त्यतिबेला २९ खेलको निर्णय नभए पनि २३ खेलमा सहभागिता जनाउने निर्णय भएर तयारी थालिएको थियो।
त्यतिबेला हामीले ५४० जना खेलाडीको लङ लिस्ट तयार पारेर छनोट गर्दै बन्द प्रशिक्षण सुरू गरेका थियौं। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयो। हामीले सबै खेलाडी विकेन्द्रित भएर टिम खेलका लागि नवौं राष्ट्रिय खेलकुदमा लाग्यौं। नवौंपछि विभिन्न राष्ट्रिय च्याम्पियनसिप र अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा हाम्रा खेलाडीले निरन्तर खेल्दै आए।
गत माघदेखि हामीले दोस्रो चरणको तयारी थालेका थियौं। दोस्रो चरणमा हामीले तीन चरणको छनोट प्रक्रियालाई अगाडि बढाएका थियौं। पहिला एक एभेन्टका लागि उत्कृष्ट तीन खेलाडी छनोट गर्यौं। प्रशिक्षण गरेर तीन जनाबीच प्रतिस्पर्धा गरायौं। त्यसपछि उत्कृष्ट दुई छनोट गरेर प्रशिक्षण गरायौं। त्यसपछि फेरि छनोट गरेर हामीले उत्कृष्ट खेलाडी छनोट गरेका हौं।
यसरी हेर्दा हामीले उत्कृष्टभित्र पनि सर्वोत्कृष्ट छानेर बन्द प्रशिक्षणमा राखेर तयारी गरेका हौं। हामीले राष्ट्रिय टिमका लागि विदेशी प्रशिक्षकलाई नियुक्त गरेर अभ्यास गराएका छौं। राष्ट्रिय टिमका खेलाडीहरू वैदेशिक प्रशिक्षणका साथसाथै एक्सपोजरका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन गएका छन्।
यो सँगसँगै खेलाडीहरूलाई एन्टी डोपिङसहित सबै पक्षलाई समेटर तयारी गरेका छौं।
भन्दा राम्रो तयारी गरेको भनिन्छ, तर एसियाली खेलकुदमा गएर प्रतिस्पर्धा गर्दा हाम्रो स्तर निकै कमसल देखिन्छ। दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धी भए पनि एसियाली खेलकुदमा हाम्रो स्तर बढ्न नसक्नुको कारण के हो?
एसियाली खेलकुदलाई दोस्रो ओलम्पिकको रूपमा लिनुपर्छ। विभिन्न महादेशमा हुने खेलकुद प्रतियोगितामध्येको यो सबैभन्दा ठूलो प्रतियोगिता पनि हो। त्यसैले यो क्षेत्रीय स्तरको प्रतियोगिता रूपमा मात्र नभएको भन्ने कुरा पनि हामीले बुझ्न पर्दछ।
म सदस्य सचिव भएर आफ्नो कार्यभार सम्हालेपछि हामीले गम्भीरतापूर्वक तयारी त गरेका छौं। राष्ट्रिय टिमका खेलाडीको निरन्तर अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता र उनीहरूको प्रशिक्षण कस्तो भइरहेको छ भन्ने हेर्न पर्छ। हिजो हामीले कस्तो जग बसालेका थियौं र खेकुदकको मुहान कस्तो थियो हेर्नु पर्छ।
अझै पनि खेलकुदको जग बलियो भएको छैन। विद्यालयस्तरदेखि खेलकुदको जग बलियो हुनुपर्ने थियो, त्यो भएको छैन। जग बलियो नभई औसतको अभ्यासको बीचबाट आएका जुन खेलाडी छन्, ती अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त छैनन्।
हाम्रो घरेलुस्तरमा उनीहरू नै सर्वोत्कृष्ट खेलाडी हुन्। दक्षिण एसियाली स्तरमा हेर्ने हो भने हामी प्रतिस्पर्धी छौं। धेरै खेलमा हामीले डोमिनेट पनि गरेका छौं, अब्बल सावित भएका छौं। समग्र मेडलको हिसाबले हामी दोस्रो भएका छौं। कतिपय खेलमा त हामी पहिलो भएका पनि छौं।
एसियाली खेलकुदमा किन राम्रो प्रदर्शन गर्न सकिरहेका छैनौ भने हाम्रो ग्रासरूटदेखिको जग बलियो हुनु पर्ने थियो त्यो बलियो छैन। जग बसाल्ने कुरा रातारात हुने कुरा पनि होइन। यसका लागि एउटा स्पष्ट नीतिको खाका चाहिन्छ। त्यसको खाका मैले सरकारलाई पेश गरेको छु।
कक्षा तीनदेखि नै खेलकुद विषयलाई अनिवार्य बनाउनु पर्छ। पूर्ण पूर्णांकको विषयमा समेट्नुपर्छ। खेलकुदको विषयमा ६० प्रतिशत प्राक्टिकल र ४० प्रतिशत थ्यौरी हुनुपर्छ। यस्तै स्कुल सञ्चालनका लागि खेल पूर्वाधार अनिवार्यको मापदण्ड बनाउनु पर्छ। अहिले प्राइभेट स्कुलमा अतिरिक्त क्रियाकलापका लागि राम्रै शुल्क लिने गरिएको छ। यसको नियमन गर्ने दायित्व सरकारको हो। शुल्क लिने तर त्यसका लागि पूर्वाधार नहुने स्थिति हटाउन तीनै तहको सरकारले काम गर्नुपर्छ।
यस्तो भयो भने अब २०२६ मा हुने एसियाली खेलकुद होस् वा २०३० को एसियाली खेलकुदका लागि तयारी गर्न सक्छौं।
यसका लागि नेतृत्वको निजी नीति र नियम हुनुहन्न। राज्यको साझा योजना हुनुपर्छ। व्यक्तिगत त जिम्मेवारी मात्र हो। निर्णय र योजना राज्यको र संस्थागत हुनुपर्छ। तर यहाँ व्यक्ति परिवर्तन हुनेबित्तिकै नीति र योजना पनि परिवर्तन हुन्छ। यस्तो समस्याबाट हरेक क्षेत्रजस्तै खेलकुद पनि प्रताडित छ।
त्यसैले मेरो काम राज्यको खेलकुद नीतिलाई इमान्दरीपूर्वक लागू गर्ने हो। तर यहाँ नीतिगत रूपमा अभाव छ। त्यो बनाउनका लागि मैले भूमिका निर्वाह गर्छु। तर नीति मेरो होइन राज्यको हुनु पर्छ।
यहाँ खेलकुद जसरी प्राथमिकतामा पर्नु पर्ने थियो त्यो परेको छैन। देशको झण्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउने ठाँउ यो हो।
१९औं एसियाली खेलकुदको कुरा गर्दा हामीले जुन जगबाट उत्पादन गरेका खेलाडीलाई हामीले फिनिसिङ मात्र गरेका हौं। जुन जुन प्रतियोगिताबाट खेलाडी आएका छन्, मैले दिन सकिने अधिकतम् सुविधा दिन प्रयत्न गरेको छु। खेलाडीले आत्मबल पाएका छन्। पहिलाको भन्दा अहिले उत्कृष्ट प्रदर्शन गर्नेमा मेरो विश्वास छ।
यस पटकको एसियाली खेलकुदमा नेपालको अपेक्षा के हो?
देशकै ठूलो रंगशाला बनाऔं भन्दा बजेट प्राप्त भइरहेको छैन। धेरै रंगशाला बन्ने पैसा भ्यू टावरको रूपमा खर्च भइरहेको छ।
हामीले कति लगानी गरेका छौं र यहाँबाट प्रतिफलको अपेक्षा गर्छौं? खेलाडी र खेलकर्मीलाई प्रश्न गरिरहँदा यो प्रश्नको उत्तर हामी सबै नागरिकले पनि दिनुपर्छ।
हामी खेलकुद प्रतियोगितामा सहभागी भइराख्दा खेलाडीलाई कति उपलब्धि हासिल गर्यौं भन्छौ। तर त्यही कुरा भोलिपल्टदेखि बिर्सन्छौं र हामी भ्यू टावर बनाउन प्रतिस्पर्धा गर्छौं। आफ्नो गाउँमा खेल पूर्वाधार बनाउन र एउटा राम्रो खेलाडी उत्पादन गरौं भन्नेतिर हाम्रो चासो हट्छ।
कम्तीमा पनि २०३० को एसियाली खेलकुद वा २०३४ को एसियाली खेलकुदका लागि एउटा राम्रो खेलाडी उत्पादन गर्न आजबाट थालौं भन्ने दायित्व सबैको हो, राज्यको हो। यस्ता कुरामा हामी चुकिरहेका छौं।
खेलकुदको बजेटको हिसाब गर्ने हो भने निकै न्यून छ। १९ औं एसियाली खेलकुदमा राष्ट्रको सहभागिता हुने भए पनि हामीले अपेक्षा गरे जति बजेट पाएनौं।
यद्यपी धेरै जटिलता भए पनि सरकारले व्यवस्था गरेको छ। सरकारलाई धन्यवाद दिनैपर्छ।
खेलाडीलाई पनि आफ्नो खेल जीवनमा एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर दिनु पक्कै पनि ठूलो कुरा हो। ओलम्पिक खेल्न छनोट पार गरेर जानु पर्छ अथवा वाइल्ड कार्डका लागि पनि निश्चित अंक प्राप्त गर्नु पर्छ। एसियाली खेलकुद खेलाडीका लागि एक्सपोजर पाउने अवसर हो। एसियाली खेलकुदबाट दक्षिण एसियाली खेलकुदमा जित्न सक्ने आधार तय गर्छौं।
हामीले कुन-कुन खेललाई पदक जित्न सक्ने खेलको सूचीमा राखेका छौं?
हामीले विश्वकप खेलेका टिमसँग एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्दैछौं। सामान्यत: यस्ता अवसर कमै प्राप्त हुन्छ। हामीले फुटबलमा लामो समयदेखि लगानी गर्यौं। एएफसी कपको छनोट पार गर्न सकेनौं। आज विश्वकप खेलिसकेको जापानसँग नेपाली महिला फुटबल टिमले खेल्ने अवसर पाउँदैछ। भलिबलमा पनि हामीले विश्वका शक्ति राष्ट्रसँग खेल्ने अवसर पाउँदैछौं। यस्ता अवसर टिम खेलका लागि प्राप्त भएको छ।
कतिपय व्यक्तिगत स्पर्धाका खेलमा पहिलो एसियन खेलदेखि सहभागिता जनाएर बल्ल दशौंमा गएर नेपालले पदक ल्याएको इतिहास छ। पछिल्ला एसियाली खेलकुदमा नेपालको एउटा संस्करणमा एउटा मात्र पदक आएको छ। सन् २०१० मा ग्वान्झाङ, २०१४ मा इन्चोन र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलमा नेपालले एउटा पदक मात्र हात पार्न सक्यो।
यसपटक व्यक्तिगत स्पर्धाका खेलमा बढी सम्भावना देखेको छु। केही खेल जसले हिजोका दिन राम्रो प्रदर्शन गरेको थियो, जस्तो बक्सिङ र करातेबाट सम्भावना छ। हामीले पछिल्लो चरणमा आफूलाई राम्रो तयारी गर्दै आएका छौं। यसमा गल्फ पनि पर्छ। तर विगतका एसियाली खेलकुदमा प्रो खेलाडीले कमैले भाग लिन्थे। यसपटक धेरै प्रो खेलाडी पनि सहभागी हुँदैछ्न्। यसरी मैले हामीले भाग लिने खेलका प्रतिस्पर्धीबारे जानकारी लिने गरेको छु।
केही नयाँ खेल पनि छन्। जस्तै बी बोइङ, क्यानोइङ र इस्पोर्ट्स। यी खेलमा हाम्रा लागि मेडलको राम्रो सम्भावना छ। हामी यी खेलमा निकै प्रतिस्पर्धात्मक ढंगले खरो रूपले उत्रन सक्छौं भन्ने सोचिरहेका छौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एसियाली खेलकुदकै बेला चीन भ्रमण गर्दैछन्। यो अवसरलाई नेपाली खेलकुदले कसरी सदुपयोग गर्दैछ?
खेलकुद एउटा भ्रातृत्व पनि हो। राजनीतिक सम्बन्ध विकास गर्ने थलो पनि हो। देश-देशबीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ गर्ने थलो हो। जनता-जनताबीच सम्बन्ध स्थापित गर्ने माध्यम पनि हो। खेलकुदको निकै फराकिलो आयाम छ। छिमेकी देशमा आयोजना भएको एसियाली खेलकुदमा हाम्रो देशको सरकार प्रमुख सहभागी हुनुले निकै ठूलो अर्थ राख्छ।
खेलकुदलाई निकै प्राथमिकता दिने सम्माननीय प्रधानमन्त्री एसियाली खेलकुदमा सहभागी हुनु सिंगो नेपाली टिमका लागि ठूलो खुसीको कुरा हो। वैदेशिक सहायताका लागि प्रधानमन्त्रीको विदेश भ्रमणमा खेलकुदको पनि एजेन्डा प्राथमिकतामा पर्छ भन्ने कुरामा विश्वस्त छु।