कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिरहदा नेपालका विभिन्न क्षेत्रमा असर गरिरहेको छ।
बढि असर गरेको क्षेत्र मध्येको एक खेलकुदका विभिन्न प्रतियोगिता स्थगित भएका छन्। राष्ट्रिय फुटबल र क्रिकेट टिमको खेल तालिका प्रभावित भएका छन् भने प्रशिक्षण स्थगित गरिएका छन्।
एक साताअघि राष्ट्रिय खेलकुद परिषद्ले बढी मानिस जम्मा हुने खेल नगर्न निर्देशन दिएको थियो।
मंगलबार परिषद्ले खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठि, सेमिनारलगायत भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।
परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने र त्यसपश्चात् परिस्थिति हेरेर निर्णय गरिने निर्णय गरेको छ।
खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्बन्धित व्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषद्ले आव्हान गरेको छ।