युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष तेजु लाल चौधरीलाई नेपाल ओलम्पिक कमिटी तदर्थ समितिको पदाधिकारले पछिल्लो गतिबिधिका बारे जानकारी गराएको छ।
अगामी वर्ष जापानमा हुने एसियाली खेलकुद २०२६ मा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउन र सो प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्यालाई समय सिमाभित्रै आयोजकलाई पठाउन मन्त्री चौधरीले ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन्।
ओलम्पिक कमिटीको कार्यसमितिबाट निर्णय भई परिषद र मन्त्रालयमा पत्राचार भएका विषय यथाशक्य कार्यान्वयका लागि परिषद र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनु भएको छ। ओलम्पिक कमिटीबाट पत्राचारमा भएका सवारी साधन लगायत अन्य चल अचल सम्पत्ति फिर्ता गर्न कडा रुपमा निर्देशन दिएका थिए।
उक्त छलफलमा तदर्थ समितिका ९ सदस्य टोली, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सहसचिव रामचरित्र मेहताको समेत उपस्थिति थियो।
गत मंसिरमा जीवनराम श्रेष्ठले आफू तेस्रो कार्यकालका लागि अध्यक्ष हुन विशेष साधारण सभा बोलाएपछि सरकारले त्यसलाई खेलकुद ऐनविपरित भएको भन्दै अवैधानिक कदम भनेको थियो। त्यसपछि सुरु भएको ओलम्पिक कमिटीको विवाद जटिल अवस्था छ।
मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गत साउन २६ गत तदर्थ समिति गठन गरेपछि नेपालमा अहिले दुई वटा ओलम्पिक कमिटी छन्।