माधक पदार्थ सेवन गरी गाडी चलाएको आरोपमा पक्राउ परेका इंग्लिस फुटबल स्टार वायने रूनीलाई २ वर्ष कुनै पनि सवारी साधन चलाउन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।
इंग्ल्यान्डको स्टोकपोर्ट जिल्ला अदालतले रुनीमाथि खराब आचरण देखाएको भन्दै उनलाई गाडी चलाउन प्रतिबन्ध लगाएको हो।
१३ वर्षपछि टिम इभर्टनमा फर्किएका इंग्ल्यान्डका पूर्व कप्तानसमेत रहेका रुनी १ सेप्टेम्बरमा अत्याधिक मदिरा सेवन गर्दै गाडी चलाएको अवस्थामा चेसायरको विल्मस्लोमा पक्राउ परेका थिए।
उनले मदिरा सेवन गरेर गाडी चलाउँदा अगाडिको सिटमा कुनै एक महिला पनि भएको बताइएको छ।
यस्तै अदालतले रुनीलाई १७० पाउण्ड जरीवाना गर्नुका साथै एक वर्षभित्र निःशुल्क सय घण्टा सामुदायिक काम गर्न पनि आदेश दिएको छ।
रुनीले ३ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा अदालतले यो निर्णय सुनाएको हो। उनी पक्राउ पर्दा नियम विपरित ३ गुणा ज्यादा नसा गरेको पाइएको थियो। बेलायतमा सवारी साधन चलाउदा नसाको मात्रा ३५ माइक्रोग्राम छ भने त्यसलाई कानुनी मानिन्छ। तर, त्योभन्दा माथि गैरकानुनी छ। रुनी समातिँदा ब्रेथलाइजरले उनको नशाको मात्रा १ सय ४ देखाएको थियो।
आफूमाथि अदालतले २ वर्ष सवारी साधन चलाउने फैसला सुनाएपछि रुनीले आफ्ना सबै समर्थकसँग सार्वजनिकरुपमै माफी मागेका छन्। उनले आफ्नो हर्कतले घर परिवार, इस्टमित्र र समर्थकलाई पर्न गएको असुविधाका लागि दुःख व्यक्त गरे। रुनी इंग्ल्यान्डका सर्वाधिक गोल कर्ता हुन्। उनी १३ वर्ष म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलेर यसै सिजन इभर्टन फर्किएका थिए।