बाराको सिमरा चोकमा बुधबार जेनजी समूहमाथि कुटपिट गरेको आरोपमा अहिलेसम्म तीन जना पक्राउ परेका छन्।
एमाले कार्यकर्ता र जेनजी समूहबीच भएको झडपपछि बुधबार र बिहीबार सिमरा तनावग्रस्त भएको थियो। जेनजी युवाहरूले आफूमाथि कुटपिट गरिएको भन्दै बुधबार राति नै सात जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए।
तीमध्ये दुई जनालाई बिहीबार बिहान र एक जनालाई राति पक्राउ गरिएको हो। उनीहरू जिल्ला प्रहरी कार्यालय बारामा थुनामा छन्।
बिहीबार बिहान पक्राउ परेकामा जीतपुरसिमरा उपमहानगरपालिका-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्धिन अंसारी छन्। उनीहरू दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।
त्यस्तै, बिहीबार राति जीतपुरसिमरा उपमहानगरपालिका-२ कै स्थानीय अरविन्द साह पक्राउ परेका छन्। उनी एमाले नेता किसान श्रेष्ठ निकट व्यक्ति हुन्। एकीकृत समाजवादीबाट केही साताअघि मात्र एमाले फर्किएका थिए।
सिमरामा आन्दोलनरत जेनजी समूहले अरविन्दलाई पक्राउ नगरेसम्म सडक प्रदर्शन जारी राख्ने बताएका थिए। यही अडानका कारण उनीहरू जिल्ला प्रशासन कार्यालयले बोलाउँदा पनि वार्तामा गएका थिएनन्।
सिमरामा एमाले कार्यकर्ता र जेनजी समूहबीच भएको झडपले स्थिति तनावपूर्ण बनेपछि बुधबार र बिहीबार कर्फ्यु लगाउनुपरेको थियो।
बिहीबार राति अरविन्द साह पक्राउ परेपछि शुक्रबार जेनजी समूह र जिल्ला सुरक्षा समितिका पदाधिकारीबीच पथलैयामा वार्तामा भएको हो। 'हामी नेपाल' का संयोजक सुदन गुरूङसमेत सहभागी उक्त वार्तामा जेनजी समूह र स्थानीय प्रशासनबीच मौखिक सहमति भएको छ।
सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालय पथलैयामा बसेको वार्तामा जेनजीले ६ बुँदे माग राखेका थिए।
जाहेरी दिइएका व्यक्तिलाई आग्रह-पूर्वाग्रह नराखी कारबाही गर्नुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र क्षतिपूर्ति बेहोर्नुपर्ने, जेनजी तथा जेनजीलाई सहयोग गर्नेहरूको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने एसपी, डिएसपी लगायतलाई कारबाही गर्नुपर्ने, अरविन्द साहको तीन दिनको कल डिटेल झिकाएर मुख्य व्यक्तिलाई अनुसन्धान दायरामा ल्याउनुपर्ने, घटनामा संलग्न भएका तर नाम छुटेका व्यक्तिलाई पुनः अभियुक्त बनाउनुपर्ने माग उनीहरूको थियो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी युवाहरूको सुरक्षा, घाइतेको उपचार, घटनाको निष्पक्ष छानबिन र कारबाहीको विषय समेटेर विज्ञप्ति निकाल्ने आश्वासन दिएका छन्। जाहेरीमा परेका फरार व्यक्तिलाई पक्रन प्रहरीले लापरबाही र ढिलासुस्ती नगर्ने पनि उनले बताए।
वार्तामा जेनजी नेता सुदन गुरूङ, शिव यादव, सम्राट उपाध्याय, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल लगायत सहभागी थिए।