इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको नयाँ सिजनमा सानदार विजयी सुरुआत गरेको छ।
समूह ‘एफ’ मा रहेको सिटीले अवे मैदानमा भएको खेलमा डच क्लब फाइनोर्डलाई ४–० ले हराउँदै उत्कृष्ट सुरूआत गरेको हो।
सिटीको जितमा जोन स्टोनले दुई तथा सर्जियो अग्युरो र गाब्रिएल जिससले एक एक गोल गरे। खेलको दोस्रो मिनेटमै स्टोनले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए। १० औं मिनेटमा अग्युरोले अग्रता दोब्बर पारे। २५ औं मिनेटमा जिससले गोल गरेपछि पहिलो हाफमा सिटीले ३–० को अग्रता लियो।
दोस्रो हाफको ६३ औं मिनेटमा स्टोनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–० को जित निकाल्यो।
सिटी जितपछि तीन अंकसहित समूहको शीर्ष स्थानमा छ। समूहकै अर्को खेलमा शाक्तर डोनेस्कले नेपोलीलाई २–१ हराउँदै समान तीन अंक जोड्यो तर गोल अन्तरको आधारमा ऊ सिटीभन्दा पछि पर्यो।