फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले ब्राजिलियन स्टार नेइमारका लागि २६ अर्ब ८६ करोड रुपैयाँ खर्चिएको समाचार बाहिरिएपछि अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले एउटा रोचक तथ्य बाहिर ल्याएको छ।
बिबिसीमा प्रकासित समाचारअनुसार नेइमारको क्लब स्थानान्तरणका लागि पिएसजीले खर्चिएको रकमले १ हजार ३२ पल्ट भर्जिन गालाक्टिकबाट स्पेसको यात्रा गर्न सकिन्छ। यसअघि एक जना ब्यापारी सर रिचार्ड ब्रान्सनले स्पेसको यात्रा गरेका थिए। उनले यसका लागि २ करोड ५४ लाख रुपैयाँ खर्चेका थिए। बिबिसीका अनुसार ब्रान्सनले खर्चेको रकमलाई आधार बनाउने हो भने एक हजारभन्दा बढि स्पेसको यात्रा गरेर फर्किन सकिन्छ।
यस्तै, भारतका स्टिल बादशाह लक्ष्मी मित्तलले लन्डनको किङ्सटन प्यालेस गार्डेन खरिद गर्दा ठूलो खबर बनेको थियो। नेइमारलाई खर्चिएको रकमले २ वटा किङ्सटन प्यालेस खरिद गर्न सकिन्छ। मित्तलले २००४ मा ७ अर्ब ६३ करोडमा किङ्सटन प्यालेस खरिद गरेका थिए। जसको अहिले बजार मूल्य ९ अर्ब १९ करोड मानिन्छ।
यस्तै, नेइमारलाई खर्चिएको रकम इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले गत सिजन उपाधि जित्दा पुरस्कारबाट र टेलिभिजन अधिकारबाट कमाएको हाराहारी मानिन्छ। नेइमारलाई खर्चिएको रकमले विश्वको महंगो क्लबको सूचीमा १९ औं स्थानमा पर्ने मोनाको क्लब किन्ने क्षमता राख्छ।
नेइमारको स्थानान्तरणको रकमले इङ्लिस प्रिमियर लिगमा यसै सिजन उक्लिएको हुडर्सफिल्ड टाउनजस्ता ५ वटा क्लब किन्न सकिन्छ।