अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको निर्णय दशैंपछि मात्र गर्ने भएको छ।
एन्फाले १४ ए डिभिजन क्लबलाई आइतबार पत्र पठाउँदै सहिद स्मारक ए डिभिजन लिगको महत्वपूर्ण विषयमा छलफल गर्नका लागि आगामी असोज २६ गते बैठक बोलाएको छ।
एन्फाले यसअघि लिगका लागि क्लबहरूसँग छलफल गरेको थियो। भदौ ३० का लागि बोलाइएको बैठक भने औपचारिक रूपमा सञ्चालन हुन सकेको थिएन। जेनजी आन्दोलनका कारण एन्फाका विभिन्न कार्यक्रम स्थगित हुँदा बैठक पनि प्रभावित बनेको थियो।
यस्तै स्थगित भएको एन्फा यू-१६ लिगको विषयमा पनि असोज २६ मा नै छफल हुने एन्फाको भनाइ छ।
यसअघि एन्फाले २०८२ पुस ९ गतेदेखि सुरु गर्ने प्रस्ताव राख्दै यसलाई होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना सुनाएको थियो।
पछिल्लो पटक २०७९/२०८० को लिग २०८० को जेठ २३ सकिएको थियो। चर्च ब्वाइजलाई च्याम्पियन बनेको साढे दुई वर्षपछि एन्फाले अर्को लिग गर्न लागेको हो।
पछिल्लो लिग सकिएको तीन वर्षपछि अर्को लिग गर्न लागेको एन्फामाथि समयमै लिग गर्न नसकेको भन्दै चर्को आलोचना हुने भएको छ।